शेयेर गर्नुहोस
टीकापुर ४ साउन /
पतंजली योग समिती टीकापुरका अध्यक्ष तथा योग प्रशिक्षक छविलाल जैशीको शब्द, संगीत तथा लयमा “तिम्रो साथ पाउ प्रभु जी” भजनको विमोचन भएको छ ।
संगीतकार शिशिर साधकको म्युजिक, एरेन्ज, मिक्स र मास्टरिङमा उक्त भजन विमोचन गरिएको हो । उक्त भजनलाई शिशिर साधक युटुव च्यानलमा समेत सुन्न सकिने छ । पतंजली योग समिती टीकापुरको आयोजनामा भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले टीकापुर नगरपालिका योग नगरको रुपमा पहिचान बनाउँदै गएको बताएका छन् । वडा अध्यक्ष विकले पश्चिमा संस्कृतिका गीतभन्दा हाम्रा मौलिक संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
योग भजनले टीकापुरको योग कार्यक्रमलाई थप उचाईमा पुर्याउने विश्वास पनि व्यक्त गरेका छन् । योग कार्यक्रममा आफुसँगै आफ्ना बालबालिकाहरुलाई पनि सहभागी गराएर सहि मार्गमा लगाउन वडा अध्यक्ष विकले आग्रह गरे । साथै वडाले योग शिविरका लागि गत आर्थिक वर्षमा दुईवटा योग भवन निर्माण गरेको बताउँदै चालू आर्थिक वर्षमा तीनवटा भवन निर्माणको योजना रहेको बताए ।
गितका संगीतकार साधकले संगीतको नाता योगसँग जोडिएको बताएका छन् । उनले टीकापुर क्षेत्रबाट योगसँग सम्बन्धित पहिलो भजन रेकर्ड भएको बताए । साधकले यस्ता समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कुनै पनि गित संगीत रेकर्डका लागि कुनै शुल्क नलिएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । भजनका गायक छविलाल जैशीले धेरै रचना लेख्ने अवसर मिले पनि समय नजुरेसम्म बाहिर ल्याउन नसकिने बताएका छन् । उनले आगामी दिनमा पनि यस्ता भजनलाई श्रोता तथा दर्शक माझ ल्याउने बताए ।
कार्यक्रममा पत्रकार इश्वर साउँद, सुमन कुमार न्यौपाने, सर्वानन्द चपाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । पतंजली योग महिला समिती टीकापुरकि उपाध्यक्ष सिर्जना शर्मा पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा समिती टीकापुरका सचीव मंगला कुमारी थापाले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन जगत कुमारी जैशीले गरेकी थिइन ।










