ज्यानलाई जोखिममा राखेर हतारमा डुङ्गाको यात्रा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ११ कार्तिक /
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ का वीरबहादुर चौधरी तिहारको दिन निकै हतारमा हुनुहुन्थ्यो । घरबाट हतारमा निस्कनुभएका वीरबहादुरले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो । डुङ्गा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुर जस्ता कैयौं समयमा आफ्नो गन्तव्यमा पुग्न सक्नुभएन ।
“टीकाको साइतमै पुगेर टीका लगाउने मनस्थितिका साथ घरबाट आएको थिए । एक घण्टा भन्दा बढी समयम डुङ्गाको पालो पर्खिन लाग्यो ।” वीरबहादुरले भन्नुभयो, “नदीमा पुल भैदिएको भए कसैले कसैको लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला ।” एउटै डुङ्गामा सयौंलाई वारपार गर्नुपर्दा यात्रुले समयमा पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाउनु भएन । डुङ्गालाई एकपटक वारपार गर्नै आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो ।
बर्दियाको पाताभारबाट टीकापुर आउनुभएका अनिश थारु पनि डुङ्गाको पालो पर्खेर बस्नु भएको थियो । उहाँमा निकै छ्टपटी देखिन्थ्यो । उहाँको छ्टपटीले उहाँ निकै हतारमा हुनुहुन्थ्यो भन्ने कुराको भाव बाहिरै देखिन्थ्यो । “तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिए । दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिए ।” अनिशले भन्नुभयो, “निकै ढिलो भयो । डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन । घरमा दिदीबहिनी टीका लगाउनको लागि मलाई पर्खेर बसेका छन् । कतिबेला पुगिन्छ थाहा छैन ।”
कैलालीको लम्कीचुहा नगरपालिकाका मिनबहादुर धामीलाई पनि निकै हतार थियो । हतारमा सन्कट्टी पुग्नुभएका धामीलाई कर्णाली नदी पार गर्न एक घण्टा भन्दा बढी लाग्यो । घरमा भएका दिदिबहिनीहरुसँग टीका लगाएर बर्दियामा रहनुभएकी दिदीको हातबाट टीका लगाउनको लागि बर्दियाको शान्तिबजार जान लाग्नुभएका उहाँलाई डुङ्गामा सवार गर्ने नागरिकहरुको भिडले समयमै टीका लगाउन पाउनुभएन ।
“राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकोले यताबाट आएको हु । सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ ।” धामीले भन्नुभयो, “मानिसको निकै चाप, त्यसैमा सवारीसाधनले भरिएको डुङ्गामा यात्रा गर्दा पारी पुग्न पाइन्छ कि पाइदैन भन्ने ठूलो डर ।” चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकहरूको निकै भिड लाग्ने गरेको छ । एक पटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्गामा त्यहीँ मात्रामा सवारीसाधनहरु पनि भरिएका हुन्छन् । नदी वारपार गर्ने अर्को विकल्प नहुँदा नागरिकहरु जोखिमको यात्रा गर्न बाध्य छन् । एउटा ब्याक्तीको नदी तरेको २५ रुपैयाँ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ । नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरदेखि नदीसम्म पुग्नको लागि एकमात्र विकल्प बनेको छ अटो रिक्सा । नदीसम्म पुगेको एक यात्रुको पाँच सयसम्म रिक्सा चालकले लिनेगरेका छन् ।
टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहीँ रुटमा अटो रिक्सा चलाउनुहुन्छ । टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको पाँच सय रुपैयाँ लाग्ने गरेको छ । नदी तरेर पारी बर्दिया क्षेत्रमा पुगेपछि पनि अटो रिक्सा भन्दा अर्को सवारीसाधनको विकल्प छैन । त्यहाँबाट शान्तिबजार पुगेको पनि पाँच सय तिर्नुपर्ने बाध्यता छ । अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महंगो हुन गएको मनोज बताउनुहुँन्छ । “बाटो निकै अप्ठ्यारो छ । पेट्रोल महंगो छ । त्यसैले पनि महंगो भाडा नलिएपछी हामीलाई पर पर्दैन ।” मनोजले भन्नुभयो, “बाटो राम्रो भए दुई समयमा पनि यात्रुलाई पुर्याउन सकिन्छ । बाटोकै कारण यात्रु मारमा परेका छन् भने हाम्रो बाध्यता छ ।”
बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक होस् वा व्यापारिक रुपमा नजिक छ । हुलाकी राजमार्ग अन्तर्गत सत्तीमा पुल निर्माण भएको भएपनि त्याहाको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुनेगरेको छ । त्यहाँ दुबै क्षेत्रमा वर्षौंदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुङ्गा सञ्चालन गरेबापत राजस्व संकलन गर्दै आएको छ ।
सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै टेन्डर आव्हान भएर ठेक्का समेत भएको छ । ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयले गुनासो समेत गर्दै आएका छन् । पुल निर्माण भएपछि सहज रुपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न माग समेत स्थानीयले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *