टीकापुरको विकासका लागि कतै चुक्ने छैन: डगौंरा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ जेठ /
कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले नगरपालिकाको विकासका लागि आफू कतैपनी नचुक्ने बताउनुभएको छ ।
सोमबार नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण पदभार ग्रहण गराउँदै नगर प्रमुख डगौंराले नगर भित्रका जनताका फाटेका मनहरुलाई जोड्न देखि समग्र टीकापुरको विकासका लागि आफू कतै पनि नचुक्ने बताउनुभएको हो । “हिजो निर्वाचनमा हुँदा कुनै राजनीतिक दल वा फरकफरक चुनाव चिन्हमा हामि जनताको माझमा गयौं । आज निर्वाचित भएर आइसकेपछि समग्र टीकापुरका साझा हामी भएका छौं ।” नगर प्रमुख डगौंराले भन्नुभयो, “टीकापुरलाई सफल बनाउन सकेपछि मात्रै हामी जनप्रतिनिधि पनि सफल हुने हो । त्यसकारण हामी सबैको सम्मानजनक भुमिकाबाट टीकापुर बनाउन लाग्नुपर्ने छ ।”
पदभार ग्रहण गर्दै नगर प्रमुख डगौंराले नगरपालिकालाई ग्रीन गार्डन्को रुपमा विकास गर्ने, शिक्षा क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, गुणस्तरीय रुपमा विकास गर्न विशेष कार्यक्रम सहित अनुगमनमा जोड दिने, नगर भित्र यातायात सञ्चालन तथा आवागमनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि चक्रपथ निर्माण कार्यलाई विशेष जोड दिई अगाडि बढाउने विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रबाट सम्बोधन गर्न उपयुक्त देखि निर्णयार्थ पेश गर्ने बताउनुभएको छ ।
नगर उपप्रमुख खडकबहादुर शाहले अब सबैको ध्यान नगरपालिका बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । सपथ तथा पदभार ग्रहण गर्दै नगर प्रमुख शाहले सबै निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेर काम गर्नुपर्ने बताउँदै सबैभन्दा पहिला सेवाग्राहीहरुलाई सहज र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नु नै महत्त्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रममा निर्वाचन अधिकृत पुष्कर खड्काले जुन जनप्रतिनिधिहरुमा देखिएको उत्साह कार्यकालको अन्तिमसम्म रहन सकोस भन्दै शुभकामना व्याक्त गरेका छन् । उनले जनप्रतिनिधिहरुको भविष्यसँग टीकापुरको भविष्य जोडिएको बताउँदै जनताको साझा भएर काम गर्न आग्रह गरेका छन् । निर्वाचन अधिकृत खड्काले जनप्रतिनिधिहरुले गरेको निर्णयलाई कर्मचारीहरुबाट कार्यान्वयनको पाटोलाई सहज बनाएर नगरपालिकाको विकास गर्न सकिने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिको हातमा टीकापुरको भविष्य रहेको बताएका छन् । उनले कर्मचारीहरुलाई जसरी जनप्रतिनिधिहरुले डोर्‍याउन सक्यो त्यसैअनुसार काम गर्ने बताउँदै काम कर्मचारीले गरेपनी गाइड जनप्रतिनिधिले गर्नुपर्ने बताएका छन् ।
जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गरेर फर्केपछि नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख डगौंराले नगर उपप्रमुख, वडा अध्यक्ष र निर्वाचित वडा सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *