टीकापुर महोत्सव सुरु, टीकापुरको विकास नै मेरो विकास हो : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


टीकापुर ३० पुस /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुरको विकास नै आफ्नो विकास भएको बताएका छन् ।
टीकापुर उद्योग वाणिज्य संघकले आयोजना गरेको सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन । “मेरो बाल्यकाल देखि शिक्षादीक्षा सबै यसैक्षेत्रमा भएको हो । मेरो टीकापुरसँग नजिकको सम्बन्ध छ ।” उनले भने, “टीकापुरको विकास नै मेरो विकास हो ।” उनले आफुबाट हुने हरेक कुरामा टीकापुरलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।
उनले टीकापुर बिज्ञान तथा प्रविधि विश्वविद्यालयको विधेयक प्रदेश सभामा पेश भएको उल्लेख गर्दै सभाबाट पास भएसँगै विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढ्ने बताए । “यो क्षेत्र विकासका सवालमा एक ठाउँमा उभिन सक्नुपर्छ । सबैको एउटै स्वर हुनुपर्छ ।” उनले भने, “एकपटक गम्भीरतापूर्वक आत्मसमिक्षा सहित एकताको स्वर बाहिर आओस् भन्ने हाम्रो अपेक्षा छ ।” विश्वविद्यालय स्थापनाको विषयमा टीकापुरलाई गम्भीर बन्न मुख्यमन्त्री शाहले आग्रह पनि गरेका छन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री शाहले देशमा स्थायित्व कायम गर्नका लागि निर्वाचन पहिलो विकल्प भएको बताए। “भदौ २३ र २४ गतेको घटना पछि मुलुकले चाहेको परिवर्तन अनि रुपान्तरणका लागि अहिले सरकारका सबै संयन्त्र निर्वाचन केन्द्रित भएका छन् ।” उहाँले भन्नुभयो, “निर्वाचनलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।”
जनताले दिएको जनादेशलाई आत्मसात गर्दै राजनीतिक दलहरूमा पनि रुपान्तरणको बाटोमा लाग्नुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिनुभयो । उहाँले राजनीतिमा देखिएको विचलनले जनतामा निराशा पैदा गर्दै गएको बताउँदै राजनीतिमा पनि रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ । सरकारका गतिविधिले जनतामा आशा भन्दा बढी निराशा छाएको उहाँले स्वीकार गर्नुभएको छ । “भ्रष्टाचार, सुशासन, पारदर्शिता लगायतका मुख्य कुरामा तिनै तहको सरकार चुकेको छ । त्यो हामीले स्वीकार गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री शाहले भन्नुभयो, “त्यसलाई सुधार गर्दै जनताको नयाँ जनादेशबाट अब आउने संघीय नेतृत्वले संविधानका मुलभुत विषयमा गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ ।”
मुख्यमन्त्री शाहले सुदुरपश्चिम सम्भावनाका दृष्टिकोणले निकै महत्त्वपूर्ण प्रदेश रहेको भन्दै लगानीकर्तालाई लगानीका लागि आह्वान समेत गर्नुभएको छ । “यो प्रदेश जल, जमिन र जंगल सबै दृष्टिकोणले सम्पन्न छ । त्यसलाई सदुपयोग गर्ने लगानीकर्ता प्रदेशले खोजेको छ ।” उहाँले भन्नुभयो, “लगानीकर्ताको लगानीको वातावरण अनि संरक्षण प्रदेश सरकार गर्न तयार छ ।” निजी क्षेत्रको लगानी विना समृद्धि परिकल्पना गर्न नसकिने बताउँदै मुख्यमन्त्री शाहले सरकार र निजि क्षेत्र सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै तिनलाई नीतिगत रुपमा व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैधले प्रदेश सरकार शक्ति सम्पन्न नहुँदासम्म संघीयता माथी प्रश्न उठिरहने बताउनुभएको छ । उहाँले देश आर्थिक मन्दिमा परेका बेला मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताउनुभयो । उपाध्यक्ष बैधले मेला महोत्सवलाई सरकारले प्रायोजन गरेर त्यसलाई सरकारले नीतिगत दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । “आर्थिक क्रान्तिका लागि उद्योग र व्यवसायलाई प्रबर्द्धन गर्न मेला महोत्सव एक महत्त्वपूर्ण विकल्प बन्दै गएको छ ।” उहाँले भन्नुभयो, “सरकारले त्यसलाई प्रबर्द्धन गर्दै नीतिगत व्यवस्था सहित व्यवस्थापन गरेर लगानीको सुरक्षामा ध्यान दिनुपर्छ ।”
देशमा लगानीको वातावरण सिर्जना भए निजि क्षेत्र लगानीका लागि तयार रहेको उपाध्यक्ष बैधले बताउनुभयो । उहाँले शिक्षालाई उद्यमशिलता र प्रविधिमा जोडेर शिक्षामा परिवर्तन गर्न सक्यो भने कैयौं युवाहरूलाई स्वदेशमा रोक्न सकिने बताउनुभयो । औद्योगिक ग्राम सरकारले स्थापना गरेर लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले संघले प्रदेशसँग गरेका अपेक्षा अनि मागहरूका विषयमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर नगरपालिकालाई गुरु योजना अनुसार विकासको मोडलमा अगाडि बढाउनुपर्ने बताएका छन् । टीकापुर विमानस्थल सञ्चालनमा देखिएको अन्योलतामा राज्य गम्भीर बन्न नसकेको बताउँदै विगतमा विभागीय मन्त्रीले दिएको आश्वासन आजसम्म पूरा हुन नसकेको गुनासो व्यक्त गरेका छन् । अख्तियारको नजरमा विमानस्थल परेपछि नागरिक उड्डयन प्राधिकरणले काम गर्न नसकेको बताए ।
“हामीले विगत देखि आश्वासन पाउने गरेका छौँ । हाम्रा मागहरू सम्बोधनका लागि संघ र प्रदेश सरकारको प्राथमिकतामा पर्न सकेका छैनन ।” उनले भने, “अब ती सम्भावनालाई साकार पार्नका लागि विशेषगरी प्रदेश सरकारका मुख्यमन्त्रीले अभिभावकको भुमिका निर्वाह गर्न आग्रह गर्छु ।” नगर प्रमुख थारुले टीकापुरलाई फरक जिल्ला बनाउन सक्दा सबै सम्भावना साकार हुने विश्वास पनि व्यक्त गरेका छन् ।
टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले निजि क्षेत्रको मन छियाछिया भएको बताउँदै निजि क्षेत्रलाई बलियो बनाउने कुरामा एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले टीकापुर विमानस्थल सञ्चालन भएर बन्द भएको अवस्थामा प्रश्न उठाएका छन् । निवर्तमान नगर प्रमुख रावलले महोत्सवले टीकापुरलाई एकतामा गोलबन्द गर्ने सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सामाजिक एकताको अभाव अझै टीकापुरमा छ ।
सुदुरपश्चिम प्रदेशलाई मुख्यमन्त्री शाह मार्फत ज्ञापनपत्र संघले बुझाएको छ । टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना, यातायात कार्यालय स्थापना, भन्सारमा क्वारेन्टाइन स्थापना लगायतका माग मुख्यमन्त्रीलाई संघले बुझाएको छ । त्यसैगरी संघले कर्णाली नदी चिसापानीमा लामो समयदेखि गिज रिडरको रुपमा काम गर्दै आएको पार्वती गुरुङलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।
संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष दिपेन्द्र रावलले गरेका थिए भने सञ्चालन महासचिव प्रकाश तिमिल्सेना र कलाकार शोभा त्रिपाठीले गरेका थिए । महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *