देखिएन तीजमा उल्लास

शेयेर गर्नुहोस


टीकापुर २४ भदौ /
हिन्दु नारीहरुले हर्ष उल्लासका साथ मनाउँदै आएको तीज आइतबार सकिएको छ ।
यसवर्षको तीजमा विगतका वर्षहरूमा जस्तो उत्साह भने निकै कम देखियो । मठ मन्दिर देखि बजार तथा गाउँघरमा पनि तीजको रौनक कमै रह्यो । खासगरी टीकापुर बजारमा तीजको समयमा निकै चहलपहल हुन्थ्यो । विभिन्न चोकहरुमा तीजका गीतमा नाचगान गर्ने महिलाहरूको निकै भिडभाड हुने गर्थ्यो । बलभद्र चोक र सिद्धार्थ चोक मानिसहरूले भरिभराउ हुन्थे । बजारका अन्य चोकहरुमा पनि चहलपहल हुने गर्थ्यो । कतिपय व्यापारीले त्यो समयलाई व्यापार गर्ने अवसरको रुपमा पनि लिने गरेका थिए ।
यसवर्ष परिस्थिति निकै फेरियो । भरिभराउ हुने बजार तीजको समयमा पनि सुनसान जस्तै देखिए । मञ्चमा नाच्न नपाएको झोकमा कैयौंपटक बोलाबोल हुने स्थितिबाट मञ्चमा नाच्ने कोहि भएन । अन्य दिनको भन्दा पनि झन सुनसान जस्तो स्थिति सिर्जना भयो । “खै मानिसहरू नभएरै हो की अन्य कुनै कारण हो बजारमा तीजले खासै प्रभाव पारेको देखिएन ।” स्थानीय तुल्सी विकले भनिन्, “निकै चहलपहल हुने बजारका सडक खाली छन् । व्यापारमा झन निराश बन्नुपर्ने स्थिति छ । बनाइएका मञ्चहरुमा नाच्ने मान्छे नै भएनन् ।”
उसो त गाउँघर तिर पनि यसपटक खासै तीजका गीतहरू सुन्न पाइएन । समुदायका महिलाहरू मिलेर राती अबेरसम्म तीजका गीतमा नाचगान गर्ने भए पनि यसवर्ष विगत जस्तो देख्न सकिएन । मन्दिरहरुमा पनि विगतको जस्तो भिडभाड देख्न पाइएन । “अहिले प्रायः गाउँघरमा मानिसहरू कमै छन् । कामको सिलसिलामा धेरै बाहिर हुँदा पनि त्यस्तो भएको हुनसक्छ ।” सुभद्रा रावल भन्छिन्, “अर्को समय बदलिएको छ भने रातीको समयमा नराम्रा गतिविधि हुनसक्ने भन्दै प्रहरीको निगरानी बढ्दा पनि तीजको समयमा गाउँघरमा त्यो रौनक नदेखिएको हुनसक्छ ।”
संस्कृति भित्र आएका विकृतिलाई हटाएर आफ्नो संस्कृतिलाई संरक्षण गर्ने जिम्मेवारी सबैको हो । यसमा सबैले लाग्नुपर्छ । सम्भावनाको खोजी गर्दै अभावमा जीवनयापन गर्नेहरूलाई साझ बिहान जोहो गर्ने माध्यमको राज्यबाट सुनिश्चितता गर्न सकिएन भने लोकसंस्कृतीहरु मानिसहरूको बाध्यतासँगै हराएर जानसक्ने खतरा बढेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *