शेयेर गर्नुहोस
टीकापुर २९ असोज /
शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका एक सय ९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजनामा टीकापुर नगरपालिका वडा नं. वडा नं. १ स्थित कर्णाली माद्यामिक बिधालय समावेश भएको छ ।
दुई हजारभन्दा धेरै विद्यार्थी भएका एक सय ९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणमा कर्णाली माद्यामिक बिधालय पनि समावेश भएको हो । मन्त्रालयले भौतिक संरचना सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरी पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरेर ५ अर्ब ३४ करोड रुपियाँ निकासा भइसकेको बताइएको छ ।
त्यसमा कर्णाली माद्यामिक बिधालय सहित कैलालीबाट तीनवटा बिधालय समावेश भएका छन् । जसमा धनगढी उपमहानगरपालिका स्थित त्रिनगर माध्यमिक विद्यालय, र गोदावरी नगरपालिकाको दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय रहेका छन् । उसो त प्रदेशमा ६ बिधालय उक्त कार्यक्रमका लागि छनोट भएका छन् । जसमा कञ्चनपुर भीमदत्त नगरपालिकाको महेन्द्रनगर माध्यमिक विद्यालय, दार्चुला महाकाली नगरपालिकाको महेन्द्र मोडल माध्यमिक विद्यालय र बाजुरा बडीमालिका नगरपालिकाको मालिका माध्यमिक विद्यालय रहेका छन् ।
महत्वाकांक्षी योजनामा समावेश भएका बिधालयले प्रतिविद्यालय करिब ६ करोड रुपियाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गरिने छ । उक्त कार्यक्रममा मधेस प्रदेशका ३३ वटा बिधालय समावेश भएका छन् । दोस्रोमा लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएको छ । जसमा रुपन्देहीका ८ र दाङका ६ वटा विद्यालय समावेश छन् । कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन् । जहाँ झापा र मोरङका ६/६ वटा सहितका विद्यालय सूचीकृत छन् । अन्य प्रदेशहरूको हकमा, गण्डकी प्रदेशका ६ वटा विद्यालय कर्णाली प्रदेशको ३ वटा विद्यालय र बागमती प्रदेशबाट दुईवटा विद्यालय मात्र परेका छन् ।










