शेयेर गर्नुहोस
टीकापुर २ साउन /
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १७ का खगोल बिज्ञानको अनुसन्धान गर्दै आएका अरुण लुहार विश्व प्रसिद्ध मानिने अमेरिकास्थित राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासाको “नासा स्पेस एप च्यालेन्ज कार्यक्रम” का लागि छनोट भएका छन् ।
लामो समयदेखि टीकापुरमै बसेर खगोल बिज्ञानको अनुसन्धान गर्दै बिद्यार्थीहरुलाई सचेतना दिँदै आएका अरुण नासाले सञ्चालन गर्ने सिटिजन साइन्स प्रोजेक्ट अन्तर्गत “नासा स्पेस एप च्यालेन्ज कार्यक्रम” का लागि छनोट भएका हुन । अब उनले अक्टोबर ८ देखि २२ तारिकसम्म र २७ देखि नोभेम्बर १० तारिकसम्म सञ्चालन हुने सो कार्यक्रममा मेन्टरको भुमिका निर्वाह गर्नेछन् ।
विश्वका विभिन्न देशबाट सहभागी हुने बैज्ञानिक,अर्थशास्त्री, अन्य क्षेत्रका व्यक्तिहरुसँग भर्चुअल मार्फत वर्तमान विश्व बिज्ञानका साथै अन्य समसामयिक छलफलमा अरुणले मेन्टरको भुमिका निर्वाह गर्ने गरी छनोट भएको बताए । भर्चुअलमा सहभागी भएकाहरुले बुझाएका परियोजनाको मुल्यांकनको काममा समेत अरुणको भुमिका रहने छ । “यो निकै ठूलो अवसर हो । जुन अवसरको लागि विगत चार वर्षदेखि लागेको थिए ।” उनले भने, “यसले विश्वभरका व्यक्तिहरुसँग ज्ञानको आदानप्रदान सहित समन्वय र सहकार्य गराउने छ ।”
उनले नासासँग चार वर्ष पहिले जोडिएको बताउँदै यसभन्दा पहिले लोकल होष्टको रुपमा काम गर्ने अवसर प्राप्त गरेको बताएका छन् । “यो कार्यक्रमले नासासँग सम्बन्ध बनाउन मद्दत गर्ने छ भने भोलि कुनै अवसर आएको खण्डमा मैले प्राथमिकता पाउने सम्भावना रहन्छ ।” उनले भने, “त्यस कारणले पनि यो अवसर मेरो लागि सबैभन्दा ठूलो अवसर बनेको छ ।”
टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयबाट कक्षा १२ सम्म सिभिल इञ्जिनियरिङ्गतर्फ ओभरसियर अध्ययन गरेका अरुण गजल, मुक्तक जस्ता साहित्यिक विधामा कलम चलाउँदै आएका अलख निरञ्जन लोहारका छोरा हुन् । अरुणका हजुर बुबा पदमसिंह लोहारले टीकापुरको वीरेन्द्र विद्या मन्दिर सहित ४० वर्ष भन्दा बढी शिक्षणमै बिताए । अरुणका बुवा र आमा हाल कामको शिलशिलामा भारतको राजकोटमा छन् ।