शेयेर गर्नुहोस
टीकापुर २ साउन /
कैलालीको विभिन्न स्थानीय तहले आज (शुक्रवार) स्थानीय बिदा दिएका छन् ।
साउन २ गते परेको मुक्त कमैया दिवसको अवसरमा स्थानीय तहले एक दिन स्थानीय बिदा दिएका हुन । बिदा दिनेमा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका छन् ।
दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन्। बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो । त्यसको खुसियालीमा मुक्त कमैयाले हरेक वर्ष आजैको दिन कमैया मुक्ति दिवस मनाउँदै आएका छन् ।
आज कमैया मुक्तिको २५ वर्ष पुगेको छ । कमैयाहरू मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन नसकेको उनीहरूको गुनासो छ । पुनस्थापनाको कार्य विस्तारै भइरहेको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले बताए ।










