शेयेर गर्नुहोस
झलनाथ खनाल, अछाम ०७ असोज /
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा रूपान्तरकारी परिवर्तन गर्ने उद्देश्यका साथ अछामको रामारोशन गाउँपालिकाले शैक्षिक रुपान्तरण अभियान मार्फत शिक्षकहरुसँग सम्झौता गरेको छ । शैक्षिक रुपान्तरण अभियानले सामुदायिक बिधालयको शैक्षिक गुणस्तर वृद्धि हुने विश्वासका साथ शिक्षकलाई जवाफदेही बनाउनका लागि गाउँपालिकाले शिक्षकहरुसँग लिखित सम्झौता गरेको हो ।
शिक्षकहरुले आफुले अध्यापन गराउने विषयको नतिजा सुधारको जिम्मा लिएसँगै शैक्षिक रुपान्तरणले सामुदायिक बिधालय प्रती अभिभावक र बिद्यार्थीको आकर्षण बढ्नुको साथै बिधालयको नतिजामा समेत सुधार आउने गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँद बताउनुहुँन्छ । “शैक्षिक क्षेत्रमा पछिल्लो समय आउने नतिजाले अभिभावक र बिद्यार्थीहरुलाई मात्रै नभई स्थानीय सरकारलाई पनि निराश बनाएको छ ।” उहाँ भन्नुहुन्छ, “अब बिधालयका शिक्षकहरुलाई जवाफदेही बनाएर शिक्षामा आमूल सुधारका लागि शैक्षिक रुपान्तरण कार्यक्रम सुरु गरेका हौं ।”
कार्यपालिकाले शैक्षिक रुपान्तरण अभियान सन्चालन कार्यबिधि २०८१ पारित गरेर अभियान सुरु गरेको छ । जसअनुसार गाउँपालिकाका अध्यक्षले बिधालयको प्रधानाध्यापकसँग लिखित सम्झौता गर्नुभएको छ । जसमा बिधालयको सिकाइ उपलब्धि ६० प्रतिशत भन्दा माथी हुनुपर्ने भनिएको छ । त्यस्तै बिधालयको प्रधानाध्यापकले गाउँपालिका अध्यक्षको रोहबरमा विषय शिक्षकसँग सम्झौता गरिएको छ । विषय शिक्षकले आफ्नो विषयमा बिद्यार्थीले ६० प्रतिशत उपलब्धि हासिल गराउन नसकेको खण्डमा जवाफ दिनुपर्ने छ । जुन बालविकास तहदेखि कार्यान्वयनमा लगिएको छ ।
“हरेक दिन तीनतीन” को अवधारणा अनुसार शैक्षिक कार्यक्रमलाई अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभएको छ । जुन अवधारणा अनुसार बिद्यार्थीलाई हरेक दिन विषयगत सिकाइ भन्दा तीनवटा नयाँ कुराको सिकाइ हुनेछ । उहाँले शिक्षामा एकोहोरो लगानी मात्रै भएको बताउँदै लगानीबाट प्राप्त प्रतिफलको लेखाजोखा नगर्दा शैक्षिक क्षेत्र नतिजा बिहिनको अवस्थामा पुगेको बताउनुभयो ।
“शिक्षालाई व्यावसायिक रुपमा ग्रहण गर्न नसक्दा सामुदायिक बिधालय प्रतिको आकर्षण घटेको छ । त्यसलाई मुर्तरुप दिन शिक्षकलाई आफ्नो विषयको ग्यारेन्टी लिनुपर्ने नीतिका साथ प्रस्तुत भएका छौँ ।” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, “शिक्षक आफ्नो विषयको सिकाइ उपलब्धि हासिल गराउन असफल भएको स्थितीमा जवाफ दिनुपर्ने छ ।” शैक्षिक रुपान्तरण अभियानले शिक्षकहरुको कामको आधारमा मुल्यांकन गर्ने आधार बनेको छ । शिक्षकको सिकाइ उपलब्धिले लक्ष्य हासिल गर्न नसके गाउँपालिकाले पाएको अधिकारका आधारमा शिक्षकलाई कारबाही गर्ने सम्झौता पत्रमा उल्लेख गरिदिएको छ ।
शैक्षिक रुपान्तरण कार्यक्रमले गाउँपालिकाको शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुने पिंगला देवी माद्यामिक बिधालयका प्रधानाध्यापक प्रेमराज खनालले बताउनुभएको छ । “हिजोसम्म बिद्यार्थीलाई दोष देखाएर शिक्षक उम्कन सक्ने आधार थियो भने अब शिक्षकले कुनै बाहना काम नलाग्ने भएको छ । शैक्षिक उपलब्धि हासिल गर्न बिद्यार्थी भन्दा शिक्षक जवाफदेही बन्नुपर्ने भएको छ ।” उहाँले भन्नुभयो, “सकारात्मक नतिजा आउन सकेन भने एउटा एउटा शिक्षक असफल सावित हुने छ भने एउटा प्रधानाध्यापक असफल हुने छ । यसले भोलिका दिनमा सरुवा, बढुवा लगायतका कुराहरूमा असर पुग्नेगरी सम्झौता गरिएको छ ।”
शैक्षिक रुपान्तरण अभियानले बिद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञानमा पनि पोख्त बनाउने लक्ष्य लिइएको छ । दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अभियान थालिएको शिक्षा शाखा प्रमुख नवीन ओझा बताउनुहुँन्छ । “अभियानको नतिजा यसैवर्ष थाहा भैहाल्छ । यसैवर्ष शिक्षकले आफ्नो विषयमा ६० प्रतिशत उपलब्धि हासिल गर्न भनेका छौँ ।” उहाँ भन्नुहुन्छ, “अभियानको प्रभावकारी कार्यान्वयन भए पालिकाबाट अध्ययनकै लागि शहर पुगेका हजारौ बिद्यार्थी गाउँ फर्किने छन् ।”
गाउँपालिकामा ४६ बिधालय रहेका छन् । जसमध्ये ८ वटा माद्यामिक बिधालय रहेका छन् । जसमा वालबिकासका लागि ५९ जना शिक्षक कार्यरत छन् । त्यस्तै प्राथमिक तहमा एक सय ६५ जना, निमावि तहमा ५३ जना, माद्यामिक तहमा ४४ जना कार्यरत छन् भने कक्षा ११ र १२ मा २४ जना कार्यरत रहेका छन् । त्यसैगरी वालबिकासमा एक हजार पाँच सय दुई जना बिद्यार्थी छन् । प्राथमिक तहमा चार हजात एक सय ५२ जना, निमावि तहमा एक हजार ९ सय २४ जना र माद्यामिक तह ९ र १० मा एक हजार दुई सय ५६ जना बिद्यार्थी अध्ययन गरिरहेका छन् ।










