शेयेर गर्नुहोस
टीकापुर १२ असोज /
शैक्षिक क्षेत्रबाट स्थापित भएको टीकापुर ट्युसन सेन्टरले शैक्षिक तथा व्यावसायिक रुपमा फड्को मार्न सफल भएको छ ।
टीकापुरमा २९ जना बिद्यार्थीहरुलाई जम्मा गरेर ट्युसन कक्षाबाट सुरु भएको टीकापुर ट्युसन सेन्टरले शैक्षिक क्षेत्रसँगै व्यावसायिक क्षेत्रमा ठूलो सफलता हासिल गर्न सफल भएको हो । व्यावसायिक रुपमा एकपछि अर्को क्षेत्रमा सहभागिता जनाउने क्रममा सेन्टरले पछिल्लो समय खेल क्षेत्रमा पनि अब्बल साबित गर्दै लगेको छ । केही समयदेखि चर्चामा रहेको स्केटिङ खेललाई टीकापुर ट्युसन सेन्टरले प्राथमिकताका साथ अघि बढाएको छ ।
त्यसैअनुसार टीकापुरमा मल्टिप्रपिलोज हल निर्माण गरेर सेन्टरले स्केटिङ तथा गेम जोन सञ्चालनमा ल्याएको छ । यसअघि सेन्टरले बर्दियाको राजापुर, कैलालीको जोशीपुरमा स्केटिङ सेन्टर सञ्चालन ल्याइसकेको छ भने बौनियामा सञ्चालनको तयारी गरिरहेको छ । टीकापुरमा शनिबार उक्त जोनको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालबिर चौधरीले खेलकुद क्षेत्रले आन्तरिक पर्यटन प्रबर्द्धनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् । उनले युवाहरूले समाजप्रति उत्तरदायी भएर काम गर्न सक्यो भने त्यसबाट सफलता हासिल गर्न समय नलाग्ने उदाहरण टीकापुर ट्युसन सेन्टरले समाजमा स्थापित गरेको बताएका छन् ।
“छोटो समयमा शैक्षिक क्षेत्रमा सेन्टरले गरेको प्रगतिले समग्र टीकापुर क्षेत्रको शैक्षिक विकासमा इट्टा थप्ने काम गरेको छ ।” उनले भने, “शैक्षिक क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन गर्दै व्यावसायिक क्षेत्रमा रोजगारी सिर्जना गर्नेसम्मका कार्यमा सेन्टरको योगदान अतुलनीय छ ।” टीकापुरमा नकारात्मक कुरालाई प्रतिस्थापन गर्दै सकारात्मक सन्देश प्रवाह गर्दै समुन्नत टीकापुर बनाउन सबैले लाग्नुपर्नेमा कार्यवाहक नगर प्रमुख चौधरीले जोड दिएका छन् ।
स्केटिङ मनोरञ्जनका लागि महत्त्वपूर्ण खेलको रुपमा विकास हुँदै गएको बताउँदै वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले खेलकुदका गतिविधिलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् । उनले सामाजिक क्षेत्रमा पनि टीकापुर ट्युसन सेन्टर सफलताको बाटोमा अग्रसर भैरहेको बताए । गेम जोनको उद्घाटन कार्यक्रममा कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले शैक्षिक क्षेत्रसँग खेलकुद क्षेत्रको सम्बन्ध पारस्परिक हुने बताउँदै त्यसमा सेन्टरको भुमिका विशेष रहेको बताएका छन् ।
टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापा स्केटिङ खेलकुदमा नयाँ खेलको रुपमा टीकापुर क्षेत्रमा उदाएको बताए । खेल स्वास्थ्यका लागि निकै लाभदायक भएको बताउँदै बालबालिकाले मोबाइल लगायत अनावश्यक कार्यमा समय बेथित गरिरहेको स्थितिमा खेल क्षेत्रको विकासले बालबालिकामा सकारात्मक कुराको विकास हुने विश्वास व्यक्त गरे । टीकापुर ट्युसन सेन्टरका सञ्चालक दिनेश थापाल समाजमा सकारात्मक वातावरण सिर्जना गर्न लागि समयको मागअनुसार सेन्टरले आफ्ना गतिविधि अगाडि बढाउँदै लगेको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा पनि समाजको आवश्यक अनुसार काम गर्दै जाने बताए ।
सेन्टरका प्रबन्ध निर्देशक सुरेश कुमार कठरिया अध्यक्षतामा भएको कार्यक्रमको स्वागत व्यवस्थापक प्रमुख हरिकृष्ण चौधरीले गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदिश्वर पण्डित, टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य प्रकाश तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लिखराम चौधरीले गरेका थिए ।
सेन्टरले हाल काठमाडौंमा होटेल, दुर्गौलिमा क्याफे, सप्तऋषी माद्यामिक बिधालय लगायतका क्षेत्रलाई समेत सञ्चालनमा ल्याएको छ भने सुदुरपश्चिम क्षेत्रमै कोरियन भाषाको प्रशिक्षण मार्फत सबैभन्दा बढी कामदार कोरिया पठाउने कार्यमा समेत पहिलो नम्बरमा रहेको छ ।












