श्रावण १ गतेदेखि कर्मचारीलाई काममा रोक

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३१ असार /
भजनी नगरपालिकाले अस्थायी र करार कर्मचारीलाई काम गर्नमा रोक लगाएको छ।
नगरपालिकाले असार २९ गते बुधबार एक सूचना जारी गर्दै अस्थायी र करार कर्मचारीहरुलाई रोक लगाएको हो ।
नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेशसमेत दिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन भनिएको छ । सूचनामा थपिएको छ, ‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९÷०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले कर्मचारीहरुलाई गलत नियतले श्रावण १ गतेदेखि काममा नआउन नभनिएको बताउँदै कार्यपालिकाकाले निर्णय गरेर आवश्यकताको आधारमा कर्मचारीलाई पुनरावृत्ति गरिने बताएका छन् । “हाम्रो चाहनाले मात्रै यस्तो निर्णय गरिएको होइन । कर्मचारी बढी भएर पनि निर्णय गरिएको होइन ।” नगर प्रमुख चौधरीले भने, “कार्यपालिकाको निर्णयअनुसार करार तथा अस्थायी कर्मचारीहरुको व्यवस्थापन गरिने छ । आवश्यकता र कामको आधारमा कर्मचारीहरुलाई पुनरावृत्ति गरिने योजना छ ।”
उनले एउटैले चाहेर सबै कुरा नहुने बताउँदै कार्यपालिकाको निर्णयअनुसार मात्रै कर्मचारीको व्यवस्थापन गर्न सकिने बताएका छन् । “मैले मात्रै भनेर सबै कुरा हुँदैन । अब कार्यपालिकाले कस्तो निर्णय गर्छ, त्यहीँअनुसार आगामी योजना बन्ला ।” नगर प्रमुख चौधरीले भने, “हाम्रो चाहना पनि कसैले हाम्रा कारण जागिर गुमाउनु नपरोस् भन्ने नै हो । सूचना जारी गर्दैमा जागिर जाने कुरा पनि हुँदैन ।” उनले अहिले पनि कतिपयले सूचना जारी गर्दा सकारात्मक लिएको बताउँदै कतिपयले यसलाई नकारात्मक रुपमा पनि हेरेको बताएका छन् ।
करार तथा अस्थायी कर्मचारी संघर्ष समितीका संयोजक खेम पनाडीले असार ३२ गते सबै करार तथा अस्थायी कर्मचारीहरुको भेला बोलाइएको बताउँदै नगरपालिकाले कुनै कारण नखुलाएर हटाएको अवस्थामा सशंक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले बिहिवार नगर प्रमुखसँगको बसाईले सकारात्मक छलफल भएको बताउँदै केही कर्मचारीहरुको कार्यसम्पादनका कारण यस्तो सूचना जारी भएको प्रतिक्रिया आएको बताएका छन् । “नगर प्रमुख हाम्रो आग्रहमा सकारात्मक हुनुहुन्छ । उहाँले केही कर्मचारीहरुको कार्यसम्पादनमा प्रश्न उठेका कारण यस्तो निर्णय गरेको बताउनुभएको छ ।” पनाडीले भने, “आशा छ सूचनाले कसैले पनि विमुख हुनुपर्ने अवस्था आउने छैन । यदि त्यस्तो अवस्था आएपछि हामी ससक्त प्रतिकारमा उत्रने छौं ।”
उनले अहिले पनि नगरपालिका करार र अस्थायी कर्मचारीहरुले नै चलाएको बताउँदै स्थायी कर्मचारी नआउँदा सम्मको विकल्प करार तथा अस्थायी कर्मचारी नै भएको बताएका छन् । पनाडीले कार्यालय सहयोगी देखि शाखाको प्रमुखको भुमिकासम्ममा करार तथा अस्थायी कर्मचारीहरु नै भएको बताउँदै नगरपालिकालाई कर्मचारी हटाउनु सहज नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *