सामुदायिक सेवा केन्द्रको परिचयात्मक कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर १० फागुन/
सामुदायिक सेवा केन्द्रको स्वागत तथा परिचयात्मक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुरमा शान्तिसुरक्षाको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । उनले टीकापुर सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अप्ठ्यारोमा पर्दै गएको बताएका हुन । “हामीले हाम्रा संघसंस्था र त्यसको जनशक्तिलाई सहि रुपमा परिचालन गर्न सकेका छैनौं । समुदाय र वस्तीलाई व्यस्त बनाउन सके सामाजिक अपराध आफै कम भएर जानेछ ।” प्रदेश सभा सदस्य चौधरीले भने, “त्यसका लागि संघसंस्थाको नेतृत्व जिम्मेवार बनोस् । राज्यको तर्फबाट हामीले गर्नुपर्ने कामका लागि हामी पहल गर्छु ।”
उनले विकासका दृष्टिकोणले कैलालीको पुर्वी क्षेत्र पछाडि परेको बताउँदै विकासको वातावरण सिर्जना गर्नको लागि पनि अबको नयाँ नेतृत्वको प्रदेश सरकारमा सहभागीका लागि पार्टीभित्र छलफल सुरु भएको बताएका छन् । “सरकारमा सहभागी हुनुपर्ने अवस्था देखिएको छ । तर अहिले नै कसको सरकारको सरकारमा सहभागी हुने वा आफ्नै नेतृत्वमा सरकार निर्माणको गृहकार्य गर्ने भन्ने छ्लफल भैरहेको छ ।” टीकापुरको समग्र विकासका लागि आफ्नो भुमिका सधै सकारात्मक रहने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख तथा डिएसपी उद्धव सिंह भाटले भाषणमा नभई आगामी दिनमा गरेको आफ्नो कामले शान्तिसुरक्षाको विषयमा बोल्ने बताएका छन् । उनले कुनै पार्टी तथा अन्यको प्रलोभनमा नपरी स्वतन्त्र भएर काम गर्ने बताएका छन् । “सबैले मन नपराउने क्षेत्र भनेको प्रहरी प्रशासन हो । तर सबैले भरोसा गर्ने क्षेत्र पनि प्रहरी प्रशासन ।” प्रहरी प्रमुख भाटले भने, “नागरिकहरुको शान्तिसुरक्षामा म कसैको आदेश पर्खने ब्याक्ती होइन । जहाँ जे पर्छ त्यसको त्यहीँ सामना गरेर अगाडि बढ्छु ।”
ईलाका प्रहरी कार्यालयको कार्यभार निर्वाह गरेर गएका प्रहरी प्रमुखको भन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता समेत प्रहरी प्रमुख भाटले व्यक्त गरेका छन् । “निर्दोष र पीडितलाई म सधै न्याय दिने पक्षमा काम गर्ने छु । अपराधी लाई कारबाहीका लागि कसैको दबाब मेरा अगाडि काम लाग्ने छैन ।” डिएसपी भाटले भने, “काम गर्न पनि समस्या छैन । क्षेत्र सानो छ । नागरिकहरुको अपेक्षाअनुसार काम हुन्छ ।” उनले आपराधिक घटनाहरु बढ्दै गएको महसुस प्रहरीले पनि गरेको बताउँदै त्यसलाई रोक्नको लागि नागरिकहरुसँगै रहेर काम गर्ने बताएका छन् ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रशासन अधिकृत सर्वानन्द चपाईले विगतका घटनाक्रमले टीकापुरको अवस्था गिर्दो अवस्थामा रहेको बताएका छन् । उनले आर्थिक कारोबारका हिसाबले टीकापुर निकै तल झरेको बताउँदै त्यसलाई उकास्नको लागि सबैले टीकापुरबाट सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएका छन् । चपाईले शान्त र सभ्य टीकापुर हुँदाहुँदै पनि गलत प्रचारका कारण टीकापुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारीले समाजको नेतृत्व बलियो बनाएमात्रै क्षेत्र बलियो हुने बताएका छन् । उनले सबै संघसंस्थाले सकारात्मक भुमिका निर्वाह गर्न सके शान्तिसुरक्षा व्यवस्थापनमा समस्या नहुने बताएका छन् । “आफुले नेतृत्व गरेको संस्थालाई बलियो बनाउन सकेपछि समाज बलियो बन्नसक्छ । समाज बलियो भयो भयो विकासको सम्भावना बलियो हुन्छ ।” अध्यक्ष सोडारीले भने, “समाजमा आपराधिक घटनामा पनि कुरा त्यहीँ हो । पहिला आफू बनौं त्यसपछि समाजको बारेमा चिन्ता गरौं ।”
नेपाल होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य बिरमञ्जन बटालाले अभिभावक जिम्मेवार नभएकै कारण टीकापुरमा आपराधिक क्रियाकलापमा वृद्धि भएको बताउँदै प्रहरी भन्दा बढी दोषी अभिभावक रहेको बताएका छन् । “हामी अपराध बढ्यो भनेर प्रहरीलाई दोष दिन्छौं । त्यो अपराध बढाउने हाम्रै बालबालिका हुन भन्ने कुरालाई हामीले बिर्सेका छौं ।” बटालाले भने, “अभिभावक आफ्नो बालबालिका प्रती जिम्मेवार हुन सकेपछि अपराध आफै कम भएर जान्छ । त्यति गरेर पनि भएन भने प्रहरीलाई दोष दिनु स्वभाविक हुनेछ ।”
कार्यक्रममा सहभागीहरुले लागुऔषधका कारण समाजमा आपराधिक क्रियाकलाप बढेको भन्दै डिएसपी भाटको ध्यानाकर्षण गराएका थिए । अपराध न्यूनीकरणका लागि टोल सुरक्षा समितिलाई सक्रिय बनाउन आवश्यक रहेको बताउँदै बजार क्षेत्रमा भएका घटना घटाएर अपराधी लुक्ने ठाउँ शिविर क्षेत्र भएको भन्दै त्यसमा प्रहरीले चासो दिनुपर्ने बताएका छन् । सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष ताराप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव प्रकाश खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *