नेपाल बैंकको भवन उद्घाटन

शेयेर गर्नुहोस


टीकापुर ०८ भदौ /
बनेपाल बैंक लिमिटेड टीकापुर शाखाको नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
नेपाल बैंक लिमिटेड टीकापुर शाखा प्रबन्धक टेक बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका केन्द्रिय कार्यकारी प्रमुख तिलकराज पाण्डेले १९९४ मा ८ लाख चुक्ता पुँजीबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी १६ अर्ब पुगेको बताएका छन् । भवनको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख पाण्डेले बैंकमा दुई सय ८० अर्ब बचत रहेको बताउँदै दुई सय ७ अर्ब कर्जा लगानी गरेको बताएका छन् । देशभर ७१ जिल्लामा शाखा विस्तार गरेको बैंकले सुदुरपश्चिममा तीन जिल्ला र कर्णाली प्रदेशका तीन जिल्लामा शाखा विस्तार गर्न बाँकी रहेको बैंकका कार्यकारी अधिकृत पाण्डेको भनाइ छ ।
उनका अनुसार बैंकमा तीन हजार ७ सय कर्मचारी कार्यरत छन् भने करिब २५ लाख ग्राहक नेपाल बैंकसँग रहेका छन् । भवन उद्घाटनका क्रममा उनले देशको अर्थतन्त्र जता गयो बैंक पनि त्यतै जाने बताएका छन् । “पछिल्लो समय आर्थिक गतिविधि सुस्त भएका छन् । यसलाई चलायमान बनाउनका लागि सबै पक्षको साझा धारणा बन्नुपर्छ ।” उनले भने, “२० वर्ष पछाडि फर्केर हेर्ने हो भने देशले धेरै प्रगति गरेको छ । वातावरण आज पनि बिग्रेको केही छैन ।” अवसर जहाँ पायो त्यहाँ जानू स्वभाविक हुने बताउँदै उनले अवसरको सिर्जना गर्ने वातावरण देशमा बनाउनका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका छन् । साथै टीकापुरमा स्थापना भएको नेपाल बैंकको भवन टीकापुरको साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भुमेश्वर पोख्रेलले सेवा दिने भन्दा लिनेलाई सहज हुनेगरी कार्यालयका गतिविधि सञ्चालन हुन आवश्यक रहेको बताएका छन् । टीकापुरमा नेपाल बैंकको शाखा एक सय ७ औं शाखाको रुपमा २०३३ सालमा स्थापना भएको बताउँदै नेपाल बैंक सुदुरपश्चिम प्रदेश प्रमुख उमा नकर्मीले सुदुरपश्चिममा हाल ११ शाखा रहेको बताएकी छन् । कार्यक्रममा बैंकका प्रमुख प्रबन्धक दिपेन्द्र राज काफ्ले, मार्केटिङ हेड विश्वराज भण्डारी लगायत टीकापुरका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्याक्तीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन लायकराम चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *