आजबाट बृहत सांस्कृतिक कार्यक्रम : कार्यक्रम प्रती राजनीतिक दलको असहमति

शेयेर गर्नुहोस


टीकापुर २० असोज /
टीकापुर नगरपालिकाको आयोजनामा आजबाट बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै छ ।
नगरपालिकाले टोल विकास संस्थाहरु बीच बृहत सांस्कृतिक कार्यक्रम नाम दिइएको दिइएको उक्त कार्यक्रमको पक्षमा भन्दा बढी आवाजहरु विरोधका सुनिएका छन् । नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेर दशै तिहारको अवसरमा टोल विकास संस्थाहरुको बीचमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दा कैयौं टोल विकास संस्थाहरुले विरोध जनाएका छन् भने राजनीतिक दलले त्यसमा पुर्ण असहमति जनाएका छन् ।
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सचीव धनन्जय रिमालले सांस्कृतिक कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदै उद्देश्य बिहिन कार्यक्रम आयोजना गरेर कुनै उपलब्धिको आश गर्न नसकिने बताएका छन् । उनले एकाध व्यक्तिको निहित स्वार्थको लागि कार्यक्रम आयोजना गरिएको जस्तो देखिएको बताए । “कार्यक्रमको प्रकृति हेर्दा जनताले तिरेको करको चरम दुरुपयोग गर्ने काम भएको छ । विगतमा पनि यस्ता गलत नियतका साथ थुप्रै कामहरू भएका छन् ।” उनले भने, “आवश्यकतालाई मध्यनजर गरेर जनताको भावना विपरीत नगरपालिकाका गतिविधि अगाडि बढिरहेका छन् । त्यो राम्रो होइन ।”
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले कार्यक्रम प्रती समर्थन र बहिष्कार भन्दा पनि कार्यक्रमको औचित्य माथी प्रश्न उठाएका छन् । उनले कार्यक्रम आयोजना हुनु राम्रो भएको भन्दै लक्षित निकाय हुँदाहुँदै नगरपालिकाले एकलौटी गर्न खोज्नु र सांस्कृतिक कार्यक्रमको नाममा १० लाख खर्च गर्नुको कुनै तुक नहुने बताए । “नगर सभाले पाँच लाख सांस्कृतिक कार्यक्रमकै नाममा विनियोजन गर्ने अनि फेरि कार्यपालिकाबाट १० लाख विनियोजन गर्नुले नियतमै प्रश्न देखिन्छ ।” उनले भने, “जनताले छाक कटाएर तिरेको करमा कसैले रजाइँ गर्न पाउँदैनन् । यदि यस्तै हो भने भोलि जनप्रतिनिधिको रजाइँका लागि कर तिर्नुपर्ने स्थिति नरहन सक्छ ।”
नेकपा माओवादी केन्द्रका टीकापुर नगर इन्चार्ज दयाराम संज्यालले कार्यक्रम महत्वाकांक्षी बढी देखिएको प्रतिक्रिया दिएका छन् । उनले कसैसँग समन्वय नगरी कार्यपालिकामा पनि एकलौटी निर्णय भएको भन्दै सांस्कृतिक कार्यक्रमको नाममा १० लाख बजेट धेरै हुने बताएका छन् । “कार्यक्रम आयोजना हुनु राम्रो हो तर यस्तो महत्वाकांक्षी कार्यक्रमले नतिजा शून्य दिन्छ ।” उनले भने, “नतिजा नदिने कार्यक्रमको औचित्य हुने कुरै भएन । अर्को कुरा संस्थाका पदाधिकारीलाई नै जानकारी नदिएर संस्थाको नाममा कार्यक्रम गर्नुको पछाडि धेरै शंका उत्पन्न भएका छन् ।”
नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रंग अधिकारीले जनप्रतिनिधिहरुले ब्रह्मलुट गर्ने कार्यक्रमको संज्ञा दिएका छन् । उनले दशैको समयमा कुनै हिल्लामे सडकमा ग्राभेल भए त्यस क्षेत्रका नागरिक खुशी हुन सक्ने भन्दै १० लाखले ठुलै संरचना निर्माण गर्न सकिने प्रतिक्रिया दिएका छन् । “कार्यक्रम गर्नु नराम्रो होइन । एकदुई लाख खर्च गरेर चाडपर्वको समयमा समाजले पचाउन सक्ने खालको कार्यक्रम गर्नुपर्ने हो ।” उनले भने, “यो त सरासर लुट्ने काम हो । लुट्नकै लागि यो कार्यक्रम आयोजना गरिएको हो ।” उनले बृहत सांस्कृतिक कार्यक्रमको विषयलाई लिएर नगरपालिकासँग बिल भरपाई मागेर अख्तियार जाने चेतावनी समेत दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जितबहादुर चौधरीले पनि नगरपालिकाको सांस्कृतिक कार्यक्रम प्रती रचनात्मक रुपमा विरोधको संकेत जनाएका छन् । उनले सांस्कृतिक कार्यक्रमले एक प्रकारको सामाजिक सद्भाव कायम गर्ने भन्दै त्यसको आवश्यकता र औचित्यमा भने नगरपालिका प्रष्ट हुनुपर्ने बताएका छन् । “कार्यक्रम हुनु राम्रो कुरा हो, त्यसको आवश्यकता र औचित्यमा भने ख्याल गर्नुपर्छ ।” उनले भने, “होइन भने भोलीका दिनमा नागरिकहरूले नै प्रश्न उठाउने ठाउँ हुन्छ । सबैसँग छलफल र राय सुझावका आधारमा यस्ता गतिविधि अगाडि बढाउँदा राम्रो हुन्छ ।”
कतिपय टोल विकास संस्थाका पदाधिकारीले समेत कार्यक्रमको विरोध गरेका छन् । सैपाल टोल विकास संस्थाका अध्यक्ष धर्म विष्टले संस्थाको नाम बेच्ने काम नगरपालिकाले गरेको आरोप लगाए । उनले संस्थाको नाममा कार्यक्रम आयोजना गर्दा संस्थाका पदाधिकारीहरुसँग छलफल गर्नुपर्ने भन्दै कार्यक्रमको दुई दिन अगाडि जानकारी गराएर कार्यक्रममा सहभागी हुने स्थिति नरहेको बताएका छन् । “हाम्रो कार्यक्रम प्रती पुर्ण असन्तुष्टि छ । हामी सहभागी पनि हुदैनौँ ।” उनले भने, “बरु चाडपर्वको समयमा एउटा टोललाई १० सडक बत्ती दिएको भए हामी खुशी हुने थियौं ।”
सन्तोष जैगडीले सामाजिक सञ्जालमा उक्त सांस्कृतिक कार्यक्रमक विषयमा रचनात्मक विरोध जनाएका छन् । उनी लेख्छन् “दशै सबैकाे लागि हाे । गाउँटाेलकाे मान्छेलाई रमाईलाेनै छैन भने के को दशै ? पहिला टाेलकाे बाटाे घाटाे बनाउनुहोला । १० लाख नगरको बजेटले रमाउनु भन्दा त्यहीँ बजेट टोलमा लगानी भएको भए कति खुशी हुन्थे होला । टोलको नि के कुरा गरौ एक सय ५० मिटर सडक दुई पटकको बजेटले बनेको छैन । त्यसैले भन्छु दशैको नाममा १० लाख सक्नुभन्दा बाटोमा लगाउ मेरो अनुरोध ।”
सामाजिक सञ्जालमा बृहत सांस्कृतिक कार्यक्रमको व्यापक विरोध हुँदै आएको छ । कार्यक्रम बहिस्कार गर्नेसम्मका अभिव्यक्तिहरु सामाजिक सञ्जालमा आउने गरेको भए पनि नगरपालिकाले कार्यक्रमको सबै तयारी पूरा भैसकेको बताएको छ । कार्यक्रम आज ११ बजेबाट सुरु हुने भनिएको छ । टीकापुर खुला मैदान सिटि हलको अगाडिको मैदानमा आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रम असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *