११ गते परिक्षण उडान हुने

शेयेर गर्नुहोस


टीकापुर ०६ कार्तिक /
बर्षौको चर्चा परिचर्चाका बीच टीकापुर विमानस्थलमा परिक्षण उडान हुने भएको छ ।
पटकपटक विमानस्थल सञ्चालनका लागि बहस र छलफल भए पनि सफल हुन नसकेको अवस्थामा यहीँ कार्तिक ११ गते नेपाल एयरलाइन्सले परिक्षण उडान गर्ने भएको हो । यहीँ कार्तिक १ गते विमानस्थलबाट जाने दुबै बाटो बन्द गर्न र विमानस्थल सरसफाइका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको सचिवालयले टीकापुर नगरपालिकालाकी परिपत्र गरेपछि बहसको विषय बन्दै आएको विमानस्थलको परिक्षण उडानले विमानस्थल सञ्चालन हुने आशा स्थानीयमा जगाएको छ ।
विमानस्थलमा निर्माण कम्पनीले राखेको निर्माण सामग्री उठाउने काम गरे पनि नगरपालिकाले भने सरसफाइ लगायतको काम सुरु गरेको छैन । नेपाल एयरलाइन्सले परिक्षण उडानको लागि कार्यतालिका सार्वजनिक गरेपछि नागरिकहरूमा विमानस्थल सञ्चालन हुने विश्वास बढे पनि नियमित उढान हुनेमा भने अझै आश्वस्त हुन भने सकेका छैनन् । टीकापुरले विमानस्थल नियमित सञ्चालनमा आएर नियमित उडानको कार्यतालिका सहित सञ्चालनमा आउनुपर्ने भन्दै कैयौंले सामाजिक सञ्जाल मार्फत स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
तर, नगरपालिकाका जनप्रतिनिधि नै विमानस्थल सञ्चालनको निरन्तरता पाउनेमा शंका व्यक्त गरेका छन् । “परिक्षण उडान हुँदैमा विमानस्थल पुर्णरुपमा सञ्चालन होला जस्तो लाग्दैन । तर परिक्षण उडान पछि सरकारलाई ताकेता गर्दै कम्तिमा पहाडी जिल्लामा उडान भर्न सक्यो भने हो ।” नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “होइन भने परिक्षण उडान गरेर पुरानै अवस्था सिर्जना हुने हो । नभए छिमेकी स्थानीय तह मिलेर सामुहिक योजना बनाएर काम गर्न सक्नुपर्छ ।”
२०४२ सालमा सञ्चालनमा आएको टीकापुर विमानस्थल २०५४ मा बन्द भएपछि २०६१ सालमा चार सय मुक्त कमैयाले विमानस्थलको जग्गा अतिक्रमण गरेका थिए । टीकापुर नगर विकास समितिले विमानस्थलमा बसेका मुक्त कमैयालाई २०६९ मा अन्यत्र स्थानान्तरण गर्दै विमानस्थलको अतिक्रमित जग्गा खाली गरेर करिब दुई करोड खर्च गर्दै सञ्चालनका लागि घेरावार र धावनमार्ग मर्मत समेत गरियो । समितिकै पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाइट’ पनि गरिएको थियो । सञ्चालक समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता गरे पनि त्यसको कार्यान्वयन हुन सकेन र विमानस्थल पुनः गौचरनमा परिणत हुँदै गएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *