यात्रुलाई बिदाइ गर्न आफै पुग्छन् नगर प्रमुख थारु

शेयेर गर्नुहोस


टीकापुर १० पुस /
टीकापुर विमानस्थल सञ्चालनलाई टीकापुरका नागरिकहरूले ठुलो अवसरको रुपमा लिएका छन् ।
विमानस्थल सञ्चालनमा आउन सक्दैन भनेर लगभग माया मारेका स्थानीय एकाएक विमानस्थलबाट जहाज चल्न थालेपछि अचम्मित भएका छन् । विगतमा कैयौंपटक विमानस्थल सञ्चालनमा ल्याउने भनेर परिक्षण उडान समेत भएको विमानस्थलबाट जहाज चल्न सकेको थिएन । सुरुमा नगरपालिकाले परिक्षण उडानको पहल गर्दा पनि अधिकांशको शंका त्यहीँ थियो, यो एउटा सस्तो लोकप्रियता कमाउने माध्यम मात्रै हो ।
केही टीकापुर क्षेत्रको विकासका लागि सधै चिन्ता गर्ने व्यक्तिहरु र नगरपालिकाको सक्रियताले अहिले हप्तामा तीन दिन जहाज टीकापुर विमानस्थल आउन थालेको छ । टीकापुरमा जहाज पुग्दा प्रायः नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु विमानस्थलमै भेटिन्छन् । टीकापुर क्षेत्रमा भएको खण्डमा उनी विमानस्थल पुगेर टीकापुरबाट यात्रा गर्ने यात्रुलाई बिदाइ गरेर मात्रै फर्किने गर्छन् । नगर प्रमुख थारु विमानस्थल सञ्चालनका विषयमा अझै पनि चिन्तित छन् । उसो त सिट खाली भएको दिन नगरपालिकाले टिकट वापतको पैसा तिर्नुपर्ने छ ।
मंगलबार पनि नगर प्रमुख थारुले सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई टीकापुर विमानस्थलबाट काठमाडौंका लागि विमानस्थलबाट बिदाइ गरे । उनले टीकापुर विमानस्थल प्रयोग गर्दै काठमाडौं गइदिनु भएको भन्दै मन्त्री चौधरीलाई धन्यवाद समेत दिएका छन् । मन्त्री चौधरीलाई मात्रै नभई विमानस्थलबाट सवार गर्ने सबैलाई उनले खादाले सम्मान गर्दै बिदाइ गरेका छन् ।
“विमानस्थल सञ्चालनमा आउला भन्ने झिनो आशा मात्रै थियो, त्यो पनि जीवित भएको छ ।” स्थानीय विकास रावल बताउँछन्, “अब निरन्तर चल्यो भने र आवश्यक पुर्वाधार बनाउन सक्यो भने बाँकी कारणले विमानस्थल बन्द हुने स्थिति आउने छैन ।” काम गर्ने इच्छाशक्ति भए समस्या आफै समाधान हुने उनको भनाइ छ । नगरपालिकाले १५ सिटको ग्यारेन्टी नलिएको भए जहाज आउने कुरा कल्पना पनि गर्न नसकिने विषय भएको बताउँदै काम गर्दा केही जोखिम मोल्नै पर्ने बताएका छन् । नगर प्रमुख थारुको विमानस्थल सञ्चालनमा गरेको योगदानको सम्मान गर्नुपर्ने उनको भनाई छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *