कार्यपालिका सदस्य एक ठाउँमा, संवादमार्फत समस्या समाधानको प्रयास

शेयेर गर्नुहोस


टीकापुर १० भदौ/
टीकापुर नगरपालिकामा देखिएको लामो समयदेखिको उल्झन समाधान तर्फ जाने संकेत देखिएको छ ।
कार्यवाहक नगर प्रमुखको विवादले विभाजित कार्यपालिका सदस्यको लामो समयपछिको सामुहिक संवादले लामो समयदेखिको उल्झन समाधान तर्फ जाने संकेत देखिएको हो । नगरपालिकाको कार्यपालिका बैठक जेठ १८ गतेपछि कार्यवाहक नगर प्रमुखको विषयलाई लिएर बस्न सकेको छैन ।नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ममता वास्तोलाको प्रयासले कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य एकै ठाँउमा आएका छन् । आगामी दिनको रणनीतिको विषयमा छलफल समेत भएको छ ।
खासगरी कार्यवाहक नगर प्रमुख नगार्जी सहितका केही कार्यपालिका तथा नगर सभाका सदस्यको अनुपस्थितीमा पारित भएको बजेट कार्यान्वयन लैजानुपर्ने र कार्यपालिकामा देखिएको अन्योलतालाई चिर्दै परिस्थिति सामान्य बनाउनेतर्फ लाग्नुपर्नेमा सबैको एक्यवद्धता रहेको एकजना कार्यपालिका सदस्यले बताएका छन् । “छलफलकै क्रममा छौँ । केही सकारात्मक छलफल भएको छ ।” तीनले भने, “मिल्नुको विकल्प छैन भन्नेमा सबै पुगेका छन् भने विनियोजन भएको बजेट कार्यान्वयनमा कार्यवाहक नगर प्रमुख सकारात्मक देखिएका छन् ।”
हाल देखिएको कानुनी अड्चनका बीचबाट नगरपालिकालाई निकास दिनको लागि सबैबाट सकारात्मक प्रतिक्रिया आएको प्रमुख प्रशासकीय अधिकृत वास्तोलाले बताएकी छन् । “संवादको सुरुवात गरेका छौँ । आन्तरिक मतभेदलाई आन्तरिक छलफलबाट समाधानको प्रयास गरिरहेका छौँ ।” उनले भनिन्, “सामाजिक हितको लागि सबै जनप्रतिनिधिको एक्यवद्धता छ । विश्वास छ छिट्टै देखिएका समस्या समाधान भएर नगरपालिकाले निकास पाउने छ ।”
प्रमुख प्रशासकीय अधिकृत वास्तोलाले जनताको हितका लागि गम्भीर भएर लागिपरेको बताउँदै बजेट कार्यान्वयनको पाटो अहिलेको प्रमुख आवश्यकता भएको बताइन् । “कार्यतालिका अनुसार यसै वर्ष निर्वाचन हुन्छ । निर्वाचन हुने भए अबको केही महिनामा निर्वाचन आचारसंहिताका कारण बजेट कार्यान्वयनमा समस्या आउन सक्छ ।” उनले भनिन्, “हामी चाहान्छौं, भदौ महिनाभित्र नगरपालिकाको बजेट कार्यान्वयनमा आउँछ । विकास आयोजनाले गति लिन्छ ।”
हरेक समस्या संवादमार्फत समाधान गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत वास्तोलाको भनाई छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगर्जीले मंगलबार पहिलोपटक छलफलमा सबैजना बसेको उल्लेख गर्दै छलफल जारी रहेको बताएका छन् । “छलफल भएको छ । कुरा बजेट कार्यान्वयनको लागि अख्तियारी दिने कुरामा अड्किएको छ ।” कार्यवाहक नगर प्रमुख नगार्जीले भने, “मैले आफु सहभागी नभएको नगर सभाले पारित गरेको बजेट कार्यान्वयनको लागि अख्तियारी दिन मिल्ने वा नमिल्ने कानुनी कुरा बुझेर अगाडि बढ्ने कुरा भएको छ ।”
कानुन व्यवसायीसँग आवश्यक समन्वय गरेर बजेट कार्यान्वयनको लागि अख्तियारी दिन मिल्ने भने आफू दिन तयार रहेको बताए । “मैले आफ्नो सहभागिता नरहेको बैठकले ल्याएको बजेट कार्यान्वयन गर्न मिल्ने भने मैले त्यसमा लचकता देखाएको छु भने अन्य वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले बजेट कार्यान्वयनमा लिने भए अदालतको अन्तिम फैसला नआउँदासम्म कार्यवाहक स्वीकार गर्न तयार देखिएका छन् ।” नगरपालिकालाई निकास दिने कुरामा आफू निकै गम्भीर रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *