शेयेर गर्नुहोस
टीकापुर १० भदौ /
वडा स्तरीय टोल विकास संस्थाको संस्थागत विकास तालिम मंगलबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको समन्वय, द एसिया फाउन्डेसनको सहयोग तथा सहकर्मी समाजको आयोजनामा सोमबारदेखि सुरु भएको उक्त संस्थागत विकास तालिम सम्पन्न भएको हो । टीकापुर नगरपालिका वडा नं. १ प्रस्तावित वडा नं. १२ भित्रका ३१ वटा टोल विकास संस्थाका पदाधिकारीको सहभागितामा भएको तालिमले टोल विकास संस्थाको संस्थागत विकास गराउनुका साथै आगामी दिनमा संस्थालाई मजबुत बनाउने विश्वास लिइएको छ ।
सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जोशीले तालिमले टोल विकास संस्थाका पदाधिकारीको क्षमता विकास हुनुका साथै संस्थालाई चलायमान बनाएर टोलका गतिविधिलाई अगाडि बढाउन मद्दत पुग्ने बताएका छन् । उनले टोल विकास संस्थालाई अझै बलियो र सशक्त बनाउनको लागि वडा र नगर सञ्जालको परिकल्पना सहित विधानको तयारी गरिएको बताए ।
“वडा सञ्जाल अहिले संगठित गरेर कामकारबाही भैरहेको भए पनि त्यसको विधान अझै बनेको छैन । नगर सञ्जालको बहस मात्रै भएको छ ।” उनले भने, “१२ वटा प्रस्तावित वडा सञ्जालमा तालिम सञ्चालन गरेर आवश्यक सुझाव र सल्लाह गर्दै नगर स्तरमा तामिल सञ्चालन हुने र त्यसले वडा र नगरको विधानको मस्यौदा तयार पार्ने छ ।” तयार पारिएको विधानको मस्यौदा टीकापुर नगरपालिकामा पठाइने उनको भनाइ छ ।
तालिमको समापन गर्दै वडा सञ्जालका अध्यक्ष झलनाथ खनालले टोल विकास संस्थालाई अझै मजबुत व्यवस्थापन सहित सञ्चालन गर्न तालिम महत्त्वपूर्ण हुने बताएका छन् । उनले टोल विकास संस्थालाई समुहको रुपमा नबुझन आग्रह गर्दै टोल परिवर्तनको एक संवाहकको रुपमा बुझ्न आग्रह गरे । “स्थानीय सरकारसँग समन्वय, सहकार्य गर्ने र टोलको आवश्यकतालाई पहिचान गरेर समाधानको विकल्प खोज्न टोल विकास संस्थाको परिकल्पना गरिएको हो ।” उनले भने, “त्यसकारण पनि बचत जम्मा गर्ने र समुहको रुपमा बुझ्नु हुँदैन । यसको क्षेत्राधिकार फराकिलो छ ।”
सहकर्मी समाजले १२ वटा टोल विकास संस्था वडा सञ्जालमा यसैगरी तालिम सञ्चालन गर्ने जोशीको भनाइ रहेको थियो ।










