नृत्यलाई व्यवसायसँग जोड्दै अर्जुन

शेयेर गर्नुहोस


राजेन्द्र विश्वकर्मा, टीकापुर २५ माघ /
व्यक्तिहरु पिच्छे हरेकमा चाहना फरकफरक हुने गर्छन् ।
अभिभावकको सोच छोराछोरीले राम्रोसँग बिधालय शिक्षा हासिल गरेर स्थायी जागिरमा स्थापित होउन् भन्ने हुन्छ । तर तिनै छोराछोरी आफ्नो रुचिअनुसार अगाडि बढ्दा अभिभावकले देखेको सपना पूरा नहुन पनि सक्छ । छोडेरलाई उसको क्षमता र चाहनाअनुसारको काममा लाग्न प्रेरित गरियो भने त्यो पक्कै पनि सफल हुन्छ । त्यसैको एउटा उदाहरण हुन टीकापुर नगरपालिका वडा नं. ३ शंकरपुरका अर्जुन विश्वकर्मा ।
अर्जुनका अभिभावकले आजभन्दा झण्डै १३ वर्ष अगाडि छोराले पढाई मात्रै गरोस् भन्ने चाहना राखेका थिए । त्यो अभिभावकको चाहना अनि अर्जुनको आफ्नो रहरले मेल खान नसक्दा उनले अभिभावकको त्यो सपना पूरा गर्न सकेनन् । उनले १० कक्षा भन्दा माथीको पढाईलाई निरन्तरता दिन सकेनन् । उनको रहर नृत्य क्षेत्रमा हुँदा उनी बरु नृत्यमा अब्बल बनेर बाहिर आए । बरु नृत्यलाई व्यवसायसँग जोडे । १० वर्षको उमेरमा नृत्य क्षेत्रमा लागेका उनी व्यावसायिक नृत्यकार बने । “मैले कसैलाई देखेरै नृत्यबाट सुन्दर भविष्य खोज्नुपर्छ भन्ने लाग्यो ।” उनले भने, “त्यहीँ सोचले मैले नृत्यमा समय दिए अनि त्यसबाट स्थापित हुने प्रयत्न गरिरहेको छु ।”
आफ्नो इच्छा अनुसार सिकाइमा सहभागी हुँदा धेरै कुराको ज्ञान हुने अर्जुन बताउँछन् । पढाइलाई अगाडि बढाउन नसकेपछि नृत्य सिक्नको लागि काठमाडौं छिरेका उनले करिब चार वर्ष काठमाडौंमै बिताए । त्यहाँ हुँदा नृत्यमा पोख्त भैसकेका उनले महानायक राजेश हमालदेखि अहिलेका चर्चित नायक तथा मोडल पल शाहसम्मका कलाकारहरुसँग काम गर्ने अवसर पनि पाए । केही म्युजिक भोडियोमा अवसर पाए । “सीप भए काम गर्न गार्हो छैन । मैले ममा भएको क्षमताले ठुला सेलिब्रेटीसँग काम गर्ने अवसर पाएको हु । अर्जुन भन्छन्, “आज पनि पश्चिम क्षेत्रका मेला महोत्सवहरुमा पल शाह प्रस्तुतिको लागि आउँदा हामीसँग समन्वय गर्नुहुन्छ । मेला महोत्सवको मञ्च सेयर हुन्छ ।”
सिकाइ जहाँ गरे पनि आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका अर्जुनले अहिले उनले टीकापुरमा नृत्य ईन्स्टिच्युट सञ्चालन गर्दै आएका छन् । द क्राउन डान्स एण्ड जुम्मा सेन्टर भनेर सञ्चालन गरेको उक्त ईन्स्टिच्युटमा झन्डै ६० जना नृत्य सिक्न आउँछन् । त्यतिमात्र होइन अर्जुनको श्रीमती पनि नृत्य शिक्षकको रुपमा लिटिल स्टेप्स डे केयर स्कुलमा कार्यरत छन् । “हामी दुबै जनाको पेशा एउटै पर्यो । मैले ईन्स्टिच्युट सञ्चालन गरेर काम गरिरहेको छ । म्युजिक भिडियो तथा अन्य कार्यक्रममा समय बिताउने गरेको छु ।” उनले भने, “श्रीमतीले बिधालयमा अध्यापनसँगै बिद्यार्थीलाई नृत्य सिकाउनुहुन्छ ।”
उनले हातमा सीप भए कामको लागि बाहिर जानु नपर्ने बताएका छन् । “घर परिवार चलाउन, सानोतिनो बचत गर्नका लागि हाम्रा अगाडि धेरै सम्भावना छन् ।” उनी भन्छन्, “पैसा कमाउन विदेश जानुपर्छ भन्ने लाग्दैन । मिहेनत गरे देशमा पैसाको कमि छैन ।” लगनशीलता र मिहेनत सबैभन्दा महत्त्वपूर्ण कुरा भएको अर्जुनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *