शेयेर गर्नुहोस
टीकापुर १० फागुन/
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यावसायिक सीपमूलक शिक्षा अबको आवश्यकता भएको बताएका छन् ।
वीरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालयको स्वर्णमहोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले शैक्षिक सर्टिफिगेटले अब केही नहुने बताउँदै व्यावसायिक सीपमूलक शिक्षा र सर्टिफिगेट आवश्यक हुने बताएका हुन । “हिजोको स्थिति फरक थियो, आज हिजो जस्तो छैन । त्यो कुरा शिक्षामा पनि लागू हुन्छ ।” उपप्रधानमन्त्री सिंहले भने, “अबको शिक्षा सीपसँग जोडिएको हुनुपर्छ । सीप बिनाको सैद्धान्तिक शिक्षाले सुनौलो भविष्यको परिकल्पना गर्न कठिन छ ।”
स्वर्णमहोत्सवलाई सम्बोधनका क्रममा सिंहले वीरेन्द्र विद्यामन्दिरको इतिहासलाई पुर्व बिद्यार्थीहरुको सफलताले पुष्टि गरेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै छाप छोड्न वीरेन्द्र विद्यामन्दिर सफल भएको महोत्सवको तामझामले पनि पुष्टि गरेको उनको भनाई छ । उनले टीकापुरलाई शैक्षिक हबको रुपमा विकास गर्नका लागि आफ्नो क्षेत्रबाट सक्ने सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शिक्षाले हरेक क्षेत्रका सम्भावनालाई स्थापित गर्न मद्दत गर्ने उनको भनाई छ ।
टीकापुरलाई स्मार्ट सीटीको योजनामा समावेश गरिएको बताउँदै उपप्रधानमन्त्री सिंहले बिचको समयमा केही राजनीतिक अस्थिरताका कारण त्यो योजनालाई क्रमागत गर्न नसकिएको बताएका छन् । उनले आगामी बजेटमा स्मार्ट सीटीको योजनामा टीकापुर पर्ने दाबी पनि गरेका छन् । “टीकापुरको विकासको सन्दर्भमा हामी विगतदेखी नै चिन्तित छौँ । टीकापुरलाई योजना अनुसार नै विकासको मोडलमा अगाडि बढाउने कुरामा हाम्रो पूरा साथ छ ।” उनले भने, “त्यसका लागि आगामी दिनमा बजेटको सुनिश्चितता सहितको योजना बन्छ ।”
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर बिज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको काम।अगाडि बढ्ने बताएका छन् । उनले प्रदेश विश्वविद्यालय विधेयक प्रदेश सरकारले ल्याइएको बताउँदै त्यसैअनुसार प्रदेश विश्वविद्यालय टीकापुरमा स्थापना गरिने बताएका हुन । “विगत देखि हामीले टीकापुरलाई शैक्षिक नगरीको रुपमा चिन्दै आएका छौँ । त्यसको अस्तित्व मर्न नदिन प्रदेश विश्वविद्यालय टीकापुरमा स्थापना हुन्छ ।” उनले भने, “त्यसका लागि सबैले सकारात्मक सहयोग र समन्वय गर्न पनि आग्रह गर्दछु ।” उनले बिज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन भए त्यसले समग्र देशको शैक्षिक क्षेत्रमा ठूलो हलचल ल्याउने विश्वास व्यक्त गरेका छन् ।
जनप्रतिनिधिहरुले जनताको सेवक भएर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहले सुशासनका क्षेत्रबाट प्रदेशलाई विकास र समृद्धिको बाटोमा लैजान प्रयत्न गरिरहेको बताएका छन् । “जनप्रतिनिधि जनताको सेवक भएर काम गर्नुपर्छ । हामी जनताको सेवक भएर काम गरिरहेका छौँ ।” उनले भने, “सुशासन र समृद्धिको क्षेत्रमा काम गर्ने कुरामा कतै कहिल्यै कसैसँग बार्गेनिङ हुने छैन ।” प्रदेशको मुख्यमन्त्री बन्ने आधारशिला खडा गर्न शैक्षिक क्षेत्रबाट वीरेन्द्रले आफ्ना लागि गुन लगाएको उनको भनाई छ ।
स्वर्णमहोत्सवमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शैक्षिक क्षेत्रमा टीकापुरको ऐतिहासिक धरोहरको रुपमा वीरेन्द्र विद्यामन्दिर रहेको बताएका छन् । उनले टीकापुरलाई स्वर्गीय खड्गबहादुर सिंहको योजनाअनुसार अगाडि बढाउनका लागि संघीय सरकारसँग आवश्यक सहयोगको आग्रह पनि गरेका छन् ।
स्वर्णमहोत्सव मुल समारोह समिती संयोजक नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले स्वर्ण स्तम्भ, स्वर्णमहोत्सव स्मारिका, इ-लाइब्रेरी, पुस्तकालयको उद्घाटन गरेका छन् । स्वर्णमहोत्सवमा बिधालय तथा क्याम्पसका पुर्व प्राचार्य, क्याम्पस प्रमुख, सांसद तथा मन्त्री, विभिन्न शैक्षिक सत्रको उत्कृष्ट विद्यार्थीहरुलाई अभिनन्दन समेत गरिएको छ । बिधालयका प्राचार्य फणेन्द्र राज रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन योगेन्द्र बजगाई र कलावती स्वाँरले गरेका थिए । स्वर्णमहोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।










