शेयेर गर्नुहोस
टीकापुर १८ फागुन /
वडा स्तरीय मौलिक भेषभुषा, कला, संस्कृति, परम्परा, साहित्य, गित, संगीत, झाँकी प्रदर्शनका लागि रैथाने कला संस्कृति संरक्षण सम्बर्द्धन तथा अभिलेखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
श्री संघारी युवा क्लब टीकापुर नगरपालिका वडा नं. २ को आयोजना तथा वडा नं. २ को सहयोग तथा समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष प्रदिप कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले वडामा रहेका रैथाने मौलिक संस्कृतिहरुको संरक्षण र त्यसलाई वडामा अभिलेखिकरण गरेर राख्नका लागि कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
वडा भित्रका सबै समुदायका कला र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरेर आपसी सदाचारिताको भावना विकास गर्नका लागि पनि कार्यक्रम गरिएको वडा अध्यक्ष चौधरीले बताए । “सबै जाती समुदायका कला संस्कृतिहरुको संरक्षण अनि सम्बर्द्धनका लागि कार्यक्रम प्रभावकारी बनेको छ ।” उनले भने, “यहीँ कार्यक्रमबाट वडामा कला तथा संस्कृति संरक्षणका लागि अभिलेख राख्ने काम गर्नेछौं ।”
कार्यक्रममा थारु समुदायका सखियाँ, मघौटा, झुम्रा, हुरदुङ्वा,पञ्छे बाजा, न्याउले, पुत्ला लगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए । साथै थारु समुदायको बिबाहमा प्रस्तुत हुने डेउली डर्ना नाटक समेत प्रस्तुत गरिएको थियो भने विभिन्न थारु परिकारहरुको स्वाद पनि कार्यक्रममा लिइएको थियो । क्लबका सल्लाहकार कमल चौधरीले सञ्चालन गरेको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरी, टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक नाथुराम चौधरी, वीरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालयका सहप्राचार्य योगेन्द्र बजगाई, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल लगायतको सहभागिता रहेको थियो ।
झाँकी प्रदर्शनीमा उत्कृष्ट हुनेले नगद १० हजार पुरस्कार समेत प्राप्त गरेको छ भने कार्यक्रमको स्वागत बुद्धिराम चौधरीले गरेका थिए ।










