नगरपालिकामा जनप्रतिनिधि बिचमा आरोपप्रत्यारोप कार्यपालिका सदस्यले लगाए ताला

शेयेर गर्नुहोस


टीकापुर २४ फागुन /
टीकापुर नगरपालिकामा एकाअर्कालाई आरोपप्रत्यारोप हुन थालेको छ ।
खासगरी नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र केही कार्यपालिका सदस्यहरु बीचको आरोपप्रत्यारोप छताछुल्ल हुने गरी बाहिरिन थालेको हो । नगर प्रमुख थारुले केही कार्यपालिका सदस्यहरुलाई विकास विरोधीको आरोप लगाउँदै बिहिवार पत्रकार सम्मेलन गर्दा शुक्रवार आरोप लागेका कार्यपालिका सदस्यहरुले नगर प्रमुखको कार्यशैली प्रती खरो टिप्पणी गर्दै पत्रकार सम्मेलन आयोजना गरे । उनीहरूले नगर प्रमुख थारुले भ्रम फैलाउने काम गरेको केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन ।
पत्रकार सम्मेलन गर्दैै नगर प्रमुख थारुले आफै मनपरी गरेर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले काम गर्न नदिएको भन्दै जनतामा भ्रम फैलाउने काम गरेको बताएका छन् । कार्यपालिका बैठकमा भएका गलत निर्णय प्रति असहमति लेख्न पाउने लोकतान्त्रिक अधिकारको हनन् गरेर नगर प्रमुख थारुले निरंकुश व्यवहार देखाएको आरोप उनीहरूको छ । ‘हिजो लोकतन्त्र प्राप्तीका लागि लड्यौं आज आफ्नै लोकतान्त्रिक अधिकार हनन् भयो । हामीले प्राप्त गरेको अधिकार पनि प्राप्त गर्न सक्ने स्थिति रहेन ।” वडा नं. १ का वडाध्यक्ष मोहन विकले भने, ‘नगर प्रमुखको निरंकुश प्रवृत्ति विरुद्ध हाम्रो आपत्ति हो ।”
उनले नगर प्रमुख थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको आरोप समेत लगाए । नगर प्रमुख थारु दूरदर्शी ढंगले नभई हल्लाको भरमा सल्लाह दिनेहरुको उक्साहटमा दौडिने गरेको आरोप उनको छ । ‘मेयरमा दूरदर्शीता भन्ने छैन । जसले जे सल्लाह दियो । त्यसैको पछि दौडिने गरेका छन ।” उनले भने, ‘यसले विकास हैन विनास निम्त्याउने निश्चित छ ।’
सोही पत्रकार सम्मेलनमा अनुगमन समितिको संयोजकबाट हटाईएका कार्यपालिका सदस्य दीपक निसानीले हटाउने कुराको विमति समेत राख्न नपाएको बताए । उनले निराधार आरोप लगाएर गलत प्रकृयाबाट आफूलाई जिम्मेवारीबाट हटाएको बताए । ‘नगरप्रमुखले तोक्ने व्यवस्था छ तर हटाउने व्यवस्था स्पष्ट छैन’ उनले भने, ‘नीति विधि भन्दा बाहिर गएर काम गर्न सकिने स्थिति नभएपछि समस्या भएको हो । नगर प्रमुखलाई गलत काम गर्दैन भन्दा मलाई हटाईयो ।”
नगर प्रमुख थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन । उनले २०८१ कात्तिक ३० गते विमानस्थल मर्मतको सम्झौता भएकोमा सोही दिन अनुगमन गर्न दवाव दिएपछि नगर प्रमुखसँग विवाद बढेको बताए । उनले विमानस्थल मर्मतको काम सम्पन्न नहुँदै अनुगमन गरेर प्रतिवेदन बुझाउन दवाव दिएको जानकारी दिए । ‘कतिपय योजना मैले अनुगमन गरेर हस्ताक्षर नगर्दै भुक्तानी भएका छन ।” उनले भने, ‘विमानस्थलमा मलाई दवाव दिएर फसाउन खोजेको देखिन्छ ।’
वडा नं. २ का वडाध्यक्ष दीपक चौधरीले नगर प्रमुख थारुलाई कार्यपालिका बैठकका बारेमा जानकारी नै नभएको बताए । उनले कतिपटक कार्यपालिका बैठक बस्यो भन्ने बारेमा नगर प्रमुख थारु अनभिज्ञ रहेको आरोप लगाए । ‘हामीले असहमति जनाएको ४७ औं कार्यपालिका बैठक हो । नगर प्रमुखले भने ४६ औं भनिरहनु भएको छ ।’ उनले भने, ‘यसले पनि मेयर काम कारवाही प्रति कति जिम्मेवार छन भन्ने बुझ्न सकिन्छ ।’
त्यस्तै कार्यपालिका सदस्य मञ्जु विकले नगर प्रमुख थारुले जातीय कुरा गरेर आफूहरुको चित्त दुखाएको बताईन । उनले दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई हेपेर विभेद गरेको आरोप लगाईन । ‘हाम्रो पनि राजनैतिक हैसियत छ । हामी पनि जनताको काम गर्न भनेर आएको हो ।” उनले भनिन्, ” नगर प्रमुख हामीलाई हेपेका छन ।’ उनले आफूहरुले समेत विकास चाहेको बताउँदै यसका लागि नगर प्रमुखसँग हातेमालो गर्न तयार रहेको बताईन ।
टीकापुर नगरपालिकाका तीन जना वडाध्यक्षति चार जना कार्यपालिका सदस्यहरुले संयुक्त हस्ताक्षर गरेको पाँच बुँदे विज्ञप्ती समेत पत्रकार सम्मेलनमा वितरण गरिएको थियो । विज्ञप्तीमा उनीहरुले आफूहरुमाथि नगर प्रमुख थारुले लगाएका आरोपका बारेमा स्पष्ट पारेका छन । उनीहरुले आफूहरुले राखेका विमति प्रति नगर प्रमुख थारु गम्भिर नबने परिस्थिति नराम्रो हुने चेतावनी समेत दिएका छन ।
साथै टीकापुर नगरपालिकाका केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रवार नै तालाबन्दी गरेका छन । उनीहरुले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
उनीहरुले नगर प्रमुख रामलाल डगौरा थारुले मनपरी गरेको भन्दै तालाबन्दी गरेका हुन । उनीहरुले कार्यपालिका बैठकमा लिखित असहमति राख्ने अधिकार बञ्चित गरेको आरोप लगाएका छन ।
उनीहरुले २०८१ माघ २९ गते बसेको कार्यपालिका बैठकका केही कुरामा आफूहरुले लिखित असहमति राख्न खोज्दा निर्णय पुस्तिका गायब पारेको बताए । उनीहरुले नगर प्रमुख थारुलाई मनपरी नगर्न आग्रह गर्दा समेत सुनुवाई नटेरेको गुनासो गरे ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

Leave a Reply

Your email address will not be published. Required fields are marked *