शेयेर गर्नुहोस
टीकापुर २० जेठ /
टीकापुर नगरपालिका वडा नं. १ को आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा सोमबारदेखि छोरा छोरी बीचको विभेद लगायत गलत प्रवृत्ति निरुत्साहित गर्नका लागि जनचेतनामूलक सडक नाटक तथा हस्ताक्षर संकलन कार्यक्रम सुरु भएको छ ।
छोराछोरी बीचको विभेद र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यका साथ सुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर लुहार विकले समाजमा आज पनि छोराछोरी बीचको विभेद कायमै रहेको बताएका छन् । उनले विभेदले नै बालविवाह लगायतका घटनाले प्रश्न पाइरहेको बताउँदै त्यसका नकारात्मक गतिविधिलाई निरुत्साहित गर्नका लागि वडा कार्यालयले विभिन्न विकल्पबाट नागरिकहरूलाई सचेत बनाउने काम गर्दै आएको बताए ।
“एउटा समाजको यथार्थ घटनालाई काल्पनिक पात्रको रुपमा नागरिकहरुको माझमा प्रस्तुत गर्दै त्यस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्न सडक नाटक सञ्चालन गर्न थालिएको हो ।” उनले भने, “नाटकले दिन खोजेको सन्देश अनुसरण गरेर समाजमा व्याप्त रहेको बालविवाह र विभेदका घटनालाई अन्त्य गर्दै जानुको विकल्प पनि छैन ।” वडाको शक्तिनगर शिविरबाट सुरु गरिएको सडक नाटक वडाका विभिन्न १० स्थानमा सञ्चालन गरिने छ ।
वडा कार्यालयको चालू आर्थिक वर्षको विनियोजित बजेटबाट कार्यक्रम आयोजना गरिएको सिर्जनशील युवा समाज नेपालका सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् । उनले समाजलाई सुसूचित गर्दै जनचेतना फैलाउने उद्देश्यका साथ सडक नाटक सञ्चालन गरिएको बताए । “विगतका वर्षहरु देखि नै नाटकको माध्यमबाट नागरिकहरूलाई विभिन्न क्षेत्रमा चेतना जगाउने काम गर्दै आएका छौँ ।” उनले भने, “थोरै बजेटमा धेरै नागरिकहरुलाई समेट्दै कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले पनि सडक नाटक प्रभावकारी बन्दै गएको छ ।”
शिवनगर शिविरका बढ्घर बिमल चौधरीले वस्तिमा बालविवाहको जोखिम व्यापक रहेको बताएका छन् । उनले जनचेतनामूलक कार्यक्रमले बालविवाह रोक्नका लागि महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । “वस्तिमा बालविवाह र विभेदका घटना निकै छन । यहाँ आज पनि शैक्षिक चेतनाको कमि छ ।” उनले भने, “नागरिकहरूमा चेतनाको विकास गर्नका लागि वास्तविक जोखिममा परेकाहरुकै माझमा कार्यक्रम हुँदा त्यो प्रभावकारी हुनेमा विश्वस्त छौँ ।”
कार्यक्रममा बालविवाह तथा छोराछोरी बीचको विभेद गर्ने छैन र गर्न दिने छैन भन्दै हस्ताक्षर संकलन पनि थालिएको छ । कार्यक्रममा स्वागत वडा सदस्य गणेश घर्तीमगरले गरेका थिए ।











