शेयेर गर्नुहोस
टीकापुर ०४ मंसिर/
टोल विकास संस्थालाई थप बलियो बनाउन परिकल्पना गरिएको वडा तथा नगर सञ्जालको विधान र कार्यविधि नबन्दा अन्योलमा परेको छ ।
लामो समयसम्म टीकापुर नगरपालिका नेतृत्व बिहिन अवस्थामा रहँदा वडा तथा नगर सञ्जालको विधान र कार्यविधि अन्योलमा परेको हो । गत आर्थिक वर्षमै टोल विकास संस्थाको सहभागितामा नगरपालिका भित्र १२ वटा टोल विकास संस्था वडा सञ्जाल गठन भएका थिए । वडा नं.१ लाई चार भागमा विभाजन गरेर चारवटा वडा सञ्जाल र बाँकी ८ वटा वडा सञ्जालको तदर्थ समिति गठन गरिएको थियो । ६ महिनाभित्र वडा तथा नगर सञ्जालको विधान र कार्यविधि तयार गरेर सञ्जाललाई पुर्णता दिने भनिए पनि त्यो काम अझैसम्म हुन सकेको छैन ।
द एशिया फाउन्डेसन र सहकर्मी समाजको सहकार्यमा भैरहेको टोल विकास संस्थाको अभ्यास टोलमा प्रभावकारी हुँदा वडा र नगर सञ्जालले सोचेजस्तो काम गर्न नसकेको वडा नं. ४ वडा सञ्जालकी अध्यक्ष गिता कुँवर बताउँछन् । “वडा सञ्जाल गठन हुँदा सबै सक्रिय थिए, आजभोलि बैठक बसाल्नै गाह्रो हुन्छ ।” उनले भनिन्, “स्थानीय सरकारले चासो दिएपछि मात्रै वडा तथा नगर सञ्जाललाई बलियो र जिम्मेवार बनाउन सकिन्छ ।” टोल विकास वडा सञ्जालले वडा तहको सरकारसँग समन्वय गरेर टोल विकास संस्थाको समग्र विकासको आधार तय गर्दा नगर सञ्जालले नगरपालिकासँग वडाको साझा मुद्दाको सवालमा समन्वय गर्ने गरी परिकल्पना गरिएको छ ।
वडा नं. ७ वडा सञ्जालकी अध्यक्ष सकुन्तला चौधरीले पनि टोल विकास संस्थामा सहभागिता कमजोर बन्दै गएको बताइन् । उनले साझेदार संस्थासँगै नगरपालिकाले पनि चासो कम दिएजस्तो अनुभुती भैरहेको बताइन् । “केही टोल विकास संस्थाले समुदायमा उदाहरणीय काम गर्दै आएका छन् भने केही सेलाएका छन् ।” उनले भनिन्, “टोल विकास संस्था हुँदाहुँदै वडा र नगर सञ्जालका बारेमा बुझाइ कमजोर हुँदा कैयौंले प्रश्न समेत उठाउने गरेका छन् ।”
सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जैशीले सहजकर्ताले वडा तथा नगर सञ्जालको विषयमा टोलमा बुझाउन नसकेको जस्तो देखिएको बताएका छन् । उनले टोल विकास संस्थालाई बलियो बनाउँदै वडा तथा नगरमा जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्ने संयन्त्रको रुपमा वडा र नगर सञ्जाल गठन गर्न लागिएको बताएका छन् । “केही समस्या देखिएका छन् । त्यसलाई समाधान गरेर टोल विकास संस्थाको दिगोपनलाई ध्यान दिनुको विकल्प छैन ।” उनले भने, “नगरपालिकाले पनि यसलाई चासोको रुपमा लिन सक्नुपर्छ ।”
द एशिया फाउन्डेसनका यज्ञमान सेठ्ठीले एक महिनामा कार्यक्रमको समय सकिँदै गर्दा त्यसपछि सबै जिम्मेवारी नगरपालिका बेहोर्नुपर्ने बताएका छन् । उनले टोल विकास संस्था मार्फत भएका हरेक कामहरू नगरपालिका भित्र उदाहरणीय बनेको बताउँदै स्थानीय सरकारको विकास साझेदार संस्था टोल विका संस्था भएको बताए ।
नगरपालिकाकी लेखा शाखा प्रमुख लक्ष्मी ओडले जिम्मेवारी बाँडफाँडसँगै त्यसको भुमिकामा सबै जिम्मेवार भए हरेक क्षेत्र समृद्ध बन्ने उल्लेख गर्दै नगरपालिकाको उदाहरणीय कार्य टोल विकास संस्था गठन र परिचालन भएको बताइन् । उनले टोल विकास संस्थासँग प्रत्यक्ष समन्वय गरेर वडा कार्यालयले काम गर्दा काममा पारदर्शिता, जवाफदेहिता बढेको बताएकी छन् ।
नगरपालिकाको संघसंस्था समन्वय प्रमुख अमृता रावलले वडा र नगरपालिकाको विधान तथा कार्यविधि छिट्टै पारित गराएर कार्यान्वयनमा ल्याउन पहल गर्ने बताइन । उनले नगरपालिका भित्रका केही आन्तरिक समस्याले विधान र कार्यविधि माथी छलफल हुन नसकेको बताउँदै आवश्यक छलफल र सबैको सहमतिमा वडा तथा नगर सञ्जालले पुर्णता पाउने विश्वास व्यक्त गरिन । नगरपालिकाको आउने हिउँदे नगर सभाबाट यसलाई पारित गर्ने गरी काम गर्नुपर्नेमा उनको जोड थियो ।
वडा सञ्जालको विधान र कार्यविधिलाई परिमार्जन गरेर त्यसैमा वडा र नगर सञ्जाललाई समेटेर लैजाने वा वडा र पालिकाको छुट्टाछुट्टै विधार तथा कार्यविधि बनाउने भन्ने विषयमा भने अझै अन्योल कायमै छ । हाल वडा र पालिकाको छुट्टाछुट्टै विधान र कार्यविधिको मस्यौदा भने तयार भएको छ ।










