भजनीले ल्यायो नीति तथा कार्यक्रम

शेयेर गर्नुहोस


भजनी ०९ असार /
भजनी नगरपालिकाले आउने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ् ।
गएको जेठ ३० गते नगरपालिकाको १८ औं नगर सभा अधिवेशन आव्हान गर्दै सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने कार्य सुची हुँदा त्यसमा केही नगर सभा सदस्यले सभा चल्न नदिएपछि दोस्रो बैठक आइतबारका लागि तय गरिएको थियो । त्यसैअनुसार नगरपालिकाले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको हो ।
नगर सभामा नगर प्रमुखले प्रस्तुत गरेको नगरपालिकाको आउने आर्थिक वर्षको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई महत्त्व दिएको बताइएको छ । शिक्षा तर्फ माद्यामिक तह कक्षा ९ र १० सम्म नि:शुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै प्रभावकारी कार्यान्वयन गरिने बताइएको छ । त्यस्तै उच्च शिक्षा इन्जिनियरीङ्ग, एमबीबीएस लगायत प्राविधिक विषय अध्ययन गर्न चाहने विपन्न दलित, मुक्त कमैया, मुक्त कमलरी र लोपोन्मुख राजी समुदायका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीतिमा उल्लेख गरिएको छ । कक्षा ५,८ र १० मा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
स्वास्थ्य तर्फ भजनी प्राथमिकता स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा विकास गरिने भनिएको छ । छोराछोरी बीचको विभेदलाई अन्त्य गर्न छोरी पाउने आमालाई सम्मान गरिने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाले कृषि तर्फ एक वडा एक उत्पादनकि नीति अवलम्बन गरिने बताएको छ । वास्तविक किसानलाई किसान परिचयपत्र वितरण गर्ने पनि भनिएको छ । किसानको उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिएको छ ।
एक वडा एक कालोपत्रे सडकको अवधारणालाई निरन्तरता दिइएको छ भने यातायात सेवालाई व्यवस्थित गर्नका लागि भजनीमा बसपार्क निर्माणको काम गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकालाई बाढी पिडित क्षेत्र घोषणाका लागि आवश्यक पहल गरिने कुरा नीतिमा उल्लेख छ । नगरपालिकाले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्ने नीति लिएको छ । नगरपालिकाका करार तथा ज्यालादारी कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिमा भनिएको छ ।
नगरपालिकाको १८ औं नगर सभाको दोस्रो बैठकले नदीजन्य उत्पादन , तालतलैया तथा संस्थागत सुदृढीकरण, करदाताहरुको अभिलेखिकरण गर्दै राजश्व संकलनमा प्रभावकारिता ल्याउँदै तालको बक्यौता रहेको राजश्वलाई कडाइका साथ असुल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रम माथी नगर सभा सदस्य लल्कुराम चौधरी, जनता राम चौधरी, राजेन्द्रप्रसाद खनाल, विक्रम चौधरी, दुखरानी चौधरी, दुर्गा पुन लगायतले राय सुझाव पेश गरेका थिए । नगरपालिकाको अर्को बैठक असार १० गते आउने आर्थिक वर्षको बजेट ल्याउने गरी बस्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *