सभा बोलाउने बारे छलफलमा जनप्रतिनिधि

शेयेर गर्नुहोस


टीकापुर ११ असार/
टीकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुखको विवादले पहिलोपटक बजेट ल्याउने समयसीमा भित्र बजेट ल्याउन असफल भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिहरुमा बढेको पदीय महत्वाकांक्षाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट समयमै ल्याउन नसकेको हो । कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्छ । कार्यवाहक नगर प्रमुखको मुद्दा सर्वोच्चमा विचाराधीन रहँदा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्योल बनेको छ । असार ८ गतेका लागि पेशी तोकिएको भए पनि सर्वोच्चले उक्त पेशी २२ गतेका लागि सारेपछी नगरपालिकाका केही जनप्रतिनिधि त्यो समयभन्दा अगाडि बजेट ल्याउने बाटो खोज्न थालेका छन् ।
वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले बुधबार केही कार्यपालिका सदस्यसँग बजेटका विषयमा प्रारम्भिक छलफल भएको बताउँदै २२ गतेभित्र बजेट ल्याउने गरी छलफल चलाइएको बताएका छन् । “सर्वोच्चको फैसला २२ गते आउँछ भन्ने पनि एकिन छैन । अदालतको फैसलाकै कारण नगरपालिकालाई अनिर्णयको बन्दी बनाइनु हुँदैन भन्नेमा हामी छौँ ।” उनले भने, “यो अवस्थामा कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका रामबहादुर नगार्जी र बलीराम चौधरीलाई भन्दा नगर सभाको जेष्ठ सदस्यको अध्यक्षतामा सभा आव्हान गरेर बजेट ल्याउने गरी समन्वय भैरहेको छ ।”
उनका अनुसार सर्वोच्चको फैसला नआएसम्म एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने स्थिति दिएखिएपछी त्यसको विकल्पमा छलफल भैरहेको छ । “बजेट २२ गतेभित्र आउँछ, त्यसमा बलीराम चौधरी सहितका नगर सभा सदस्य सकारात्मक देखिनुभएको छ भने केहिले असहमति पनि जनाएका छन् ।” उनले भने, छलफलमै छौँ । निकास निस्कन्छ । बजेट जसरी भए पनि आउँछ ।” उता बलीराम चौधरीले पनि पदीय विवाद देखाएर बजेट रोक्न नहुने भन्दै बजेट ल्याउने कुरामा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
उता रामबहादुर नगार्जीले भने सर्वोच्चको आपतकालीन अन्तरिम आदेशले आफुलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा फर्काएको दाबी गर्दै त्यो अवस्थामा नगर सभाको अध्यक्षता स्वभाविक आफैले गर्न पाउनुपर्ने बताएका छन् । “अर्को निर्णय नआएसम्म म जिम्मेवारीमा छु । अहिले नगर सभा बोलाउने देखि अध्यक्षता गर्नेसम्म मेरो अधिकार हो ।” उनले भने, “आफुलाई बाहिर गरेर विकल्पमा नगर सभाको जेष्ठ सदस्यलाई बैठक बोलाउन लगाइयो भने त्यो मलाई स्विकार्य हुनेछैन ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *