शेयेर गर्नुहोस
टीकापुर २३ असार /
टीकापुर नगरपालिकाले आउने साउन १ गतेबाट प्लास्टिकका झोलामा लगाउन लागेको प्रतिबन्धको तयारीलाई तीब्र बनाएको छ ।
समुदाय स्तरदेखि कृषि हाट बजार, बिधालय लगयतका सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै प्लास्टिकका झोलाको प्रयोगमा कडा प्रतिबन्ध लगाउने गरी तयारी थालेको हो । आइतबार नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले पत्रकार सम्मेलन मार्फत प्लास्टिकका झोला प्रतिबन्ध लगाउने कार्यमा व्यापक प्रचारप्रसार भैरहेको बताए । उनले नगरपालिकाको निर्देशनलाई अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याइने पनि बताए ।
“हामीले प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धि ऐन २०८० मै भनेका छौं, ऐन कार्यान्वयनमा आइसकेपछि कसैले प्लास्टिकका झोलाको प्रयोग गर्न पाइने छैन ।” उनले भने, “यदि त्यस्तो भेटिएमा ऐनमा उल्लेख भए अनुसारको कारबाही हुन्छ र जरिवाना तिर्नुपर्छ ।” नगरपालिकाले बनाएको ऐनमा प्लास्टिकको झोला बिक्रेतालाई पहिलोपटक एक हजार, दोस्रोपटकमा तीन हजार र तेस्रोपटक देखि पाँच हजार जरिवाना हुने व्यवस्था गरेको छ ।
त्यसैगरी प्लास्टिकको झोला प्रयोग गर्नेलाई समेत ऐनले जरिवानाको व्यवस्था गरेको छ । जसअनुसार प्रथमपटक १० रुपैयाँ, दोस्रोपटक ५० रुपैयाँ, तेस्रोपटक एक सय रुपैयाँ र त्यति गर्दा पनि प्रयोग गर्न नछोडेको खण्डमा नाम नै सार्वजनिक गरेर दण्ड र सजायको व्यवस्था हुने भनिएको छ । प्लास्टिकको झोला उत्पादनकर्तालाई पनि ऐनले जरिवाना तोक्ने भनेको छ । जसमा प्रथम पटकमा उत्पादनकर्ताको हकमा दुई हजार, दोस्रोपटक चार हजार, तेस्रोपटक ६ हजार र त्यसपछि पनि अटेर गरे नाम सार्वजनिक गर्दै अन्य दण्ड सजायको प्रक्रिया अगाडि बढाइने भनेको छ ।
त्यतिमात्र नभई, निषेधित प्लास्टिकजन्य वस्तुहरु उत्पादन, बिक्रीवितरण, निर्यात तथा भण्डारण तथा प्रयोग गरेको सुचना गर्ने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा अन्य कर्मचारीहरुलाई जरिवाना रकमको ५० प्रतिशत रकम दामासाहीका दरले पुरस्कार स्वरुप प्रदान गर्ने ऐनमा व्यवस्था छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख थारुले यो अभियानमा सबैले साथ दिन र टीकापुरलाई प्लास्टिक मुक्त नगर बनाउनमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।










