शेयेर गर्नुहोस
टीकापुर २८ असार/
डल्फिनको महत्व तथा संरक्षणका लागि स्थानीयहरुले गरिरहेका प्रयासहरु र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा चर्चा गरिएको छ ।
टीकापुर जेसीज वर्ष २०२५ ले आयोजना गरेको टीकापुर जेसीजको आयोजनामा शनिबार डल्फिन क्षेत्रमा डल्फिन संरक्षण सचेतना कार्यक्रम अन्तर्गत डल्फिन संरक्षणका लागि गर्नुपर्ने कामहरूको चर्चा गरिएको हो । विश्वमै दुलर्भ प्रजातिका मानिने ग्यांगेटिक डल्फिन पाइने टीकापुर नगरपालिका वडा नं. ७ बैदी ढुंगाना टोलमा डल्फिन संरक्षणको प्रयास भैरहँदा त्यसमा जेसीजले स्थानीयलाई थप जिम्मेवार बनाउन कार्यक्रम गरेको अध्यक्ष भरत भण्डारीले बताएका छन् ।
‘जैविक विविधता विश्वकै लागि निकै गहन विषय हो । त्यहीँ कुरालाई मध्यनजर गर्दै हामीले यो कार्यक्रम डल्फिन क्षेत्रमै आएर गरेका हौं ।” अध्यक्ष भण्डारीले भने ‘यसले युवाहरुलाई जैविक विविधता संरक्षण, डल्फिनको महत्वबारे जानकारी प्राप्त भई संरक्षण प्रबद्र्धनमा मद्दत पुग्ने विश्वास छ ।’
त्यसैगरी, स्थानीय डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष एवं डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले विश्वमै दुलर्भ मानिने डल्फिन सहजै, नजिकबाट हेर्न मिल्ने पर्यटकीय क्षेत्रका रुपमा रहेको बैदीको काँडा, कान्द्रा र मोहना नदीको संगमस्थलमा डल्फिन संरक्षणका लागि स्थानीयहरुले प्रयास गरिरहेको बारे जानकारी दिएका छन् । अध्यक्ष ढुंगानाले समुदायस्तरबाट संरक्षणमा प्रयास भइरहे पनि सरकारको तहबाट कामहरु हुन नसक्दा डल्फिनको संरक्षणमा कठिनाई भइरहेको बताए । उनले डल्फिन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष कल्पना ढुंगानाले जेसीजमा आबद्ध युवाहरुले संरक्षणबारे चासो देखाउनुले आफूहरु उत्साहित भएको बताइन् । त्यस्तै संस्थाका सचिव नरेन्द्र रेग्मीले विना स्वार्थ कयौं वर्षदेखि हामीहरु संरक्षणमा प्रयासरत रहेकाले डल्फिनको संख्या बढ्दै गइरहेको बताए । ‘हामीले समुदायस्तरबाट संरक्षणका प्रयासहरु गरिरहेकाले पहिलेको तुलनामा डल्फिनको संख्या बढिरहेको छ ।” उनले भने ‘तर यो पर्याप्त होइन्, यस्ता सचेतनामूलक कार्यक्रमहरु गर्दै सबै समुदायलाई सचेत बनाउन सके मात्रै डल्फिनको संरक्षण सम्भव हुन्छ ।”
जेसीजका कार्यकारिणी उपाध्यक्ष पदमबहादुर शाहीले स्वागत गरेको कार्यक्रममा जेसीज आस्था पाठ उपाध्यक्ष सुनिल चौधरीले गरेका हुन् भने कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।










