शेयेर गर्नुहोस
टीकापुर ३० साउन /
नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीले विपदको समयमा खोज, उद्वार तथा राहत वितरणका लागि आवश्यक परिचालन गर्ने संयन्त्र निर्माण गरेको छ ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार नगर कमिटीले विपदको समयमा आइपर्ने राहत, उद्वार लगायतका क्षेत्रमा काम गर्न सक्ने संयन्त्र निर्माण गरेको हो । जसमा पार्टीको नगर कमिटीका अध्यक्ष धनसिंह साउँदको संयोजकत्वमा अन्य मोर्चाका पदाधिकारीहरुलाई सदस्यमा रहने गरी संयन्त्र निर्माण गरिएको बताइएको छ ।
“अन्य समय भन्दा वर्षातको समयमा बाढी, डुवान जस्ता प्रकोपको जोखिम बढी हुन्छ । त्यो जोखिममा रहेको समुदायलाई आवश्यक उद्वार सहितको राहत लगायतको सहयोग पुग्ने गरी सबै क्षेत्रको प्रतिनिधित्व गर्ने मोर्चालाई संयन्त्रमा जोडेका छौँ ।” संयोजक साउँदले भने, “विपदको समयमा यो संयन्त्र आफ्नो जिम्मेवारी अनुसार आवश्यक क्षेत्रमा खटिने छ र आफ्नो काम गर्ने छ ।”
टीकापुर क्षेत्र पनि पाढीपिडित क्षेत्र भएका कारण बर्सेनि बाढी र डुवानको समस्या यस क्षेत्रका नागरिकहरूले झेल्दै आएका छन् । त्यसमा पनि वडा नं. ६, ७, ८ र ९ मा बाढी र डुवानको जोखिम बढी रहेको छ । संयोजक साउँदले विपद जुनसुकै बेला पनि आउन सक्ने भएकाले संयन्त्रका सबै पदाधिकारीलाई तयारी अवस्थामा रहन र मोर्चाका पदाधिकारीहरुलाई समेत तयारीमा राख्न निर्देशन दिएका छन् । जनताको सुरक्षाका लागि माओवादी केन्द्र सधै अग्र पंक्तिमा रहेर काम गर्दै आएको बताउँदै टीकापुरम मात्रै नभई संयन्त्रले आवश्यकता परे अन्य क्षेत्रमा गएर पनि काम गर्ने साउँदले बताए ।










