टीकापुर पार्क प्रवेश शुल्कमा वृद्धि, फोटोग्राफर आन्दोलनमा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०५ साउन /
टीकापुर नगरपालिकाले टीकापुर पार्कको प्रवेश शुल्क बढाएको छ ।
नगरपालिकाको आर्थिक ऐन २०८२ अन्तर्गत टीकापुर पार्क प्रवेश शुल्क बढाएको पाइएको हो । यसभन्दा पहिले स्वदेशी नागरिकहरूले तिर्दै आएको प्रती व्यक्ति ३० रुपैयाँलाई बढाएर ५० रुपैयाँ पुर्याइएको छ । त्यसैगरी अपाङ्गता भएका व्यक्ति, बिद्यार्थी र जेष्ठ नागरिकहरूलाई भने प्रती व्यक्ति ३० रुपैयाँ कायम गरिएको छ । पाँच वर्ष भन्दा कम उमेरका बालबालिकाको हकमा भने नि:शुल्क बनाइएको छ ।
त्यस्तै विदेशी नागरिकहरूमा सार्क मुलुक भित्रका पर्यटकका लागि दुई सय प्रवेश शुल्क तोकिएको छ भने अन्य विदेशी पर्यटकको हकमा चार सय तोकिएको छ । पार्क भित्रको वीरेन्द्र विश्राम बाटिका प्रवेश गरेको छुट्टै शुल्क तय गरिएको छ । जसमा पनि बिद्यार्थी, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई बाटिका प्रवेशका लागि १० रुपैयाँ लाग्ने छ भने अन्य स्वदेशी पर्यटकलाई २० रुपैयाँ शुल्क लाग्ने छ । विदेशी नागरिक सार्क मुलुकभित्रकोलाई एक सय र बाहिरको पर्यटकलाई दुई सय शुल्क तोकिएको छ ।
आर्थिक ऐनले पिकनिक स्थलको दररेटमा परिवर्तन गरेको छ । अब २५ जनाभन्दा कमको समुहले तीन सय ५० रुपैयाँ, ५० जनासम्मको समुहले पाँच सय रुपैयाँ र त्यसभन्दा माथिको समुहले ७ सय ५० रुपैयाँ पिकनिक स्थलको शुल्क तिर्नुपर्ने छ । यसभन्दा पहिले नगरपालिकाले विद्यार्थी, जेष्ठ नागरिकहरुबाट १५ रुपैयाँका दरले प्रवेश शुल्क उठाउँदै आएको थियो भने अन्य नागरिकहरूका लागि ३० रुपैयाँ शुल्क कायम गरिएको थियो ।
त्यसैगरी अन्य विषयमा पनि शुल्क वृद्धि भएको छ । यसभन्दा पहिले दैनिक एक सय रुपैयाँ तिरेर व्यावसायिक फोटोग्राफी गर्दै आएका फोटोग्राफरले अबदेखि दैनिक दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ । शिक्षा सम्बन्धि फिल्म सुटिङका लागि दुई हजार शुल्क तिर्नुपर्ने छ भने अन्य व्यावसायिक फिल्मको लागि पाँच हजार शुल्क तोकिएको छ ।
एकै वर्षमा ९३ लाख राजश्व संकलन
टीकापुर नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा टीकापुर पार्कबाट ९३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले दिएको तथ्यांकअनुसार गत वर्ष ९३ लाख ४४ हजार चार सय १० रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले पार्कबाट ६३ लाख ९७ हजार एक सय ७५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
पार्कमा गत वर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी नागरिकहरूले पार्कको अवलोकन गरेका छन् । जसबाट ६५ लाख ४६ हजार दुई सय ४० रुपैयाँ राजश्व संकलन भएको छ भने ३५ हजार दुई सय ६० जना विद्यार्थी तथा जेष्ठ नागरिकहरूले पार्क अवलोकन गरेका छन् । जसबाट नगरपालिकाले पाँच लाख ५८ हजार ९ सय राजश्व संकलन भएको देखिन्छ । सवारीसाधन पार्किङबाट मात्रै ८ लाख ३७ हजार एक सय राजश्व उठेको छ । पिकनिक स्पोट, फोटोग्राफी, क्यामरा लगायत विविधबाट १४ लाख ३२ हजार एक सय ७० रुपैयाँ संकलन भएको छ ।
गतवर्षबाट पार्कमा हुने राजश्व चुहावट रोकिएका कारण राजश्वमा वृद्धि भएको नगरपालिकाका राजश्व शाखा प्रमुख नन्द केसी बताउँछन् । उनले अन्य व्यवस्थापनको पाटोलाई पनि व्यवस्थित गरेका कारण राजश्व बढेको बताउँदै आगामी दिनमा अझै पार्कबाट राजश्व बढ्ने आकलन गरेका छन् । “चुहावट लगायतका कुराहरू कम हुँदै गएका छन् । अन्य क्षेत्रबाट प्रवेश गर्ने बाटोहरु बन्द भएका छन् ।” उनले भने, “अझै यसलाई व्यवस्थित र निगरानी बढाउन सक्यो भने राजश्व बढ्छ ।”
शुल्क दोब्बर भएपछि फोटोग्राफर आक्रोशित
टीकापुर नगरपालिकाले पार्क भित्र व्यावसायिक फोटोग्राफीको शुल्क चालू आर्थिक वर्षबाट दोब्बर बनाएको छ । यसभन्दा पहिले दैनिक एक सय रुपैयाँ तिर्दै आएका व्यावसायिक फोटोग्राफरले अहिले दुई सय तिर्नुपर्ने भएपछि स्थानीय सरकारले आफुहरुले गरि खाएको देख्न नसकेको आरोप लगाएका छन् । उनीहरूले स्थानीय सरकारले आफ्नो क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नुको साटो स्वरोजगार बनेका युवाहरूलाई पनि बेरोजगार बनाइने काम गरेको गुनासो गरे ।
दुई वर्षदेखि पार्कमा व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका नैन बहादुर चौधरीले नगरपालिकाले आफुहरु माथी प्रतिशोधको भावना लिएको बताएका छन् । उनले एकएक शतप्रतिशत शुल्क वृद्धिले आफुहरुलाई हतोत्साहित बनाउएको बताउँदै त्यसलाई पुनःबिचार गर्नुपर्ने बताए । “अहिले ३०/३६ जना व्यावसायिक रुपमा लागेका छौँ । आफ्नो अध्ययनसँगै रोजगारीको माध्यम बनाइरहँदा एकाएक मासिक तीन हजारबाट ६ हजार पुर्याउँदा के गर्ने भन्ने स्थितिमा पुर्याएको छ ।” उनले भने, “काम छोडौं भने चारपाँच लाखको लगानी गरेर क्यामरा ल्याइएको छ । ऋण तिर्न सकिएको छैन । ६ हजार नगरपालिकालाई दिएर त्यो अनुसारको आम्दानी हुने स्थिति छैन ।”
टीकापुरको खड्ग स्मृति माद्यामिक बिधालयबाट कक्षा १२ को परिक्षा दिएर अहिले त्यहीँ पार्कमा फोटोग्राफीको काम गर्दै आएका छन् । उनले अरुको क्यामरा भाडामा लिएर चलाउँछन् । खासगरी सिजन नभएको समयमा भाडा तिर्न मुस्किल हुने स्थितिमा नगरपालिकालाई दिने पैसा उठाउन पनि गाह्रो हुने उनको भनाई छ । “अब भाडाको क्यामरा फिर्ता गरेर बाहिर कतै कमाउन जानुपर्ला । ६ हजार नै तिरेर काम गर्न सक्ने स्थिति छैन ।” उनले भने, “रोजगारी सिर्जना गर्छु भन्ने जनप्रतिनिधि भएका रोजगारीका बाटाहरु पनि बन्द गर्न लागे ।”

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *