शेयेर गर्नुहोस
टीकापुर ११ साउन /
टीकापुर जेसीजले प्रत्येक वर्ष सञ्चालन गर्दै जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ ।
टीकापुर जेसीज वर्ष २०२५ को आयोजनामा आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको उद्घाटन तथा खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै टीकापुर जेसीजका संस्थापक अध्यक्ष जगतबहादुर सिंह रावलले टीकापुर जेसीजले आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम उत्कृष्ट मध्येको एक कार्यक्रम भएको बताएका छन् ।
उनले युवाहरूलाई समाजसँग जोड्नको लागि सप्ताहव्यापी कार्यक्रम महत्त्वपूर्ण रहने बताउँदै युवाहरूको जमघट गराउने ठाउँ पनि भएको बताएका छन् । कार्यक्रममा युवाहरूलाई खेलकुदका सामग्री वितरण गरेर उनीहरु खेलप्रति प्रोत्साहित हुने विश्वास व्यक्त गरेका छन् । संस्थापक अध्यक्ष रावलले खेलकुदका दृस्ठिकोणले हेर्दा टीकापुरको माटो उर्वर भएको बताएका छन् । “टीकापुरको विगतको इतिहासलाई हेर्दा पनि थाहा हुन्छ, टीकापुर खेलकुदका लागि उर्वर क्षेत्र हो ।” उनले भने, “त्यो इतिहासलाई कायम राख्नको लागि अहिलेको युवा पुस्ताले पनि खेलकुदलाई जीवन्त राख्नुपर्छ ।”
खेलकुद सामाग्री वितरण कार्यक्रमको संयोजक अभिषेक शाह रहेका थिए । खेलकुद सामग्री एफसिटी क्लब टीकापुर र जिआर फोर्टिन क्लब टीकापुरलाई वितरण गरिएको थियो । खेलकुद सामग्री बुझ्दै एफसिटीकालोचन शाह क्लबहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन्। यस्ता सहयोगले आफुहरुलाई खेलकुदमा प्रोत्साहन मिल्ने बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् ।
महासचिव भानुभक्त जैशीले सञ्चालन गरेको कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष पदमबहादुर शाहीले गरेका थिए । अध्यक्ष भण्डारीका अनुसार आज सोमबार कर्णाली माद्यामिक बिधालय टीकापुरमा झोला वितरण, १३ गते स्टेसनरी वितरण, १४ गते कृषि उद्यमशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम, १५ गते टीकापुर गौशालामा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम, १६ गते रक्तदान कार्यक्रम र १७ गते “टीकापुरको सम्भावना चुनौती र भविष्य” शिर्षकमा खुला बक्तृत्वकला प्रतियोगिता तथा समापन कार्यक्रम गरिने छ ।












