शेयेर गर्नुहोस
टीकापुर २३ साउन /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमितिका लागि यहीँ ३० गते निर्वाचन हुने भएको छ ।
खानेपानी संस्थाको चौथो चुनावी साधारण सभाको उद्घाटन २४ गतेका लागि तय गरिएको भए पनि पदाधिकारी चयनका लागि ३० गते निर्वाचन हुने भएको हो । निर्वाचन उपसमिति संयोजक श्यामराज पाण्डेले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार ३० गते बिहान ८ बजेदेखि साझ ५ बजेसम्म मतदानको लागि समय तोकिएको छ । मतदान स्थलको रुपमा सीटी हल टीकापुरलाई तोकिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार २१ गते मतदाता नामावली प्रकाशन भैसकेको छ । २३ गते आजसम्मका लागि मतदाता नामावली सच्याउनका लागि समय दिइएको छ । २४ गते निर्वाचन उपसमितिले अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारी मनोनयन दर्ता २५ गते तोकिएको छ । उम्मेदवारको मनोनयन फिर्ताको लागि २७ गते ४ बजेसम्मको समय छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन गरिने बताइएको छ ।
खानेपानी संस्थाको नेतृत्वको लागि हालसम्म चारजना उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । उसरी हेर्दा चार राजनीतिक दलले अध्यक्षका लागि उम्मेदवारी उठाउने लगभग पक्का भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्रबाट हाल संस्थाको कार्यवाहक अध्यक्षको रुपमा रहेकी सिर्जना शर्मा पण्डितलाई अगाडि सारेको छ । त्यसैगरी नेपाली काँग्रेसले संस्थाको हाल कार्यसमिति सदस्यमा रहेका खडक धामीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पनि वर्तमान कार्यसमिति सदस्य सरिता रावल थापालाई अध्यक्षमा ल्याउने तयारी गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट हालका कोषाध्यक्ष विश्राम चौधरीलाई अध्यक्षमा अघि सारेको छ ।










