खानेपानी नयाँ नेतृत्व : अवसर भन्दा चुनौती धेरै

शेयेर गर्नुहोस


टीकापुर ०३ भदौ /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्वमा नयाँ अनुहार देखिएका छन् ।
संस्थाको चौथो चुनावी साधारण सभाबाट निर्वाचित भएका पदाधिकारी सामाजिक क्षेत्रमा देखिएका नयाँ अनुहार हुन । राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर देखिए पनि संघसंस्थाहरुमा नेतृत्वमा यसभन्दा पहिले अग्रपंक्तिमा प्रायः कोहि पदाधिकारी पनि परिचित छैन ।
राजनीतिक आस्थाका आधारमा मिश्रित नतिजा दिएको खानेपानी संस्थामा तीन दलबाट प्रतिनिधि चयन भएका छन् । जस्तो नेपाली काँग्रेसबाट अध्यक्षमा खडग धामी निर्वाचित हुँदा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीबाट सीता चौधरी चयन भएकी छन । नेकपा एमालेबाट सचीवमा प्रकाश खड्काले जिम्मेवारी पाउँदा काँग्रेसबाटै हिरासिंह विष्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् । उता सदस्यमा पनि मिश्रति परिणाम निर्वाचनले दिएको छ । बब बहादुर ओली, तेजे ठकुल्ला, डम्बर बहादुर नायक, जानकी आचार्य र जाल्पा भट्टराई खानेपानीको सदस्यमा चयन भएका छन् ।
निर्वाचनको नतिजालाई नजरअन्दाज गर्दा राजनीतिक आस्था भन्दा पनि सम्भावना भएका तर अवसर नपाएकाले नेतृत्वको अवसर पाएका छन् । यो नतिजाले मतदातामा चेतनाको विकास भएको भनेर अर्थ्याउने पनि गरिएको छ । अर्कोतिर कुनै वर्ग र समुदायलाई उपेक्षा गरिएको आरोप पनि छ भने सधैं अवसरको पछाडी दौडिनेहरुको विकल्पको नतिजाको रुपमा समेत व्याख्या गर्ने गरिएको छ । तर, हिजो निर्वाचनका समयमा उपभोक्ताहरुको माझमा बोलेका कुराहरूले अब ठूलो अर्थ राख्ने कुरामा दुईमत छैन ।
खासगरी निर्वाचनको माहोलमा सबै उम्मेदवारले उठाएको आर्थिक पारदर्शिताको विषयलाई अबको नयाँ कार्यसमितिले कसरी फेस गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण छ । अझै केही पदाधिकारीले हरेक महिना संस्थाको आयव्यय सार्वजनिक गर्ने कुरालाई चुनावी एजेण्डाको रुपमा उठएका थिए । त्यो कति सम्भव हुनसक्छ हेर्न बाँकी छ । अझ संस्थाको नेतृत्वका लागि एक कार्यकाल खाएको हुनुपर्ने बाध्यकारी व्यवस्थालाई हटाउने कुरालाई अब आउने साधारण सभाबाट पास गर्न सक्छ कि सक्दैन त्यो अर्को चुनौती छ ।
त्यतिमात्र होइन, उपभोक्ताको धारामा आउने पानीमै प्रश्न उठाउनेहरु नै नेतृत्वमा पुग्दा के अब उपभोक्ताले शुद्ध पानी पिउन सक्ने बाताबरण बन्ला ? “अहिले निर्वाचित नेतृत्व युवाको छ । समाजमा केही गर्नुपर्छ भन्ने मानसिकता बोकेका युवाहरू नेतृत्वमा जाँदा खानेपानी संस्था सुधार होला भन्ने आशा छ ।” उपभोक्ता जनक चौधरी भन्छन्, “फेरि उहाँहरु समाजमा स्थापित हुने कि विस्थापित भन्ने कुराको टुंगो पनि अबको कार्य क्षमताले देखाउने छ ।” उनले सामाजिक रुपमा देखिएको प्रभावलाई कार्यमा परिणत गरेर नतिजा ल्याउन सके मात्रै उपभोक्ताले विश्वास गर्ने वातावरण बन्ने बताएका छन् ।
खानेपानी संस्थाका लागि पेचिलो बनेको विगतको हाल बेरुजुमा समेटिएको पेश्की रकम पनि हो । त्यो पेश्की बापत बुझेको रकम असुल गर्ने जिम्मा पनि नयाँ नेतृत्वलाई छ । त्यसलाई असुल गर्न नेतृत्व लाग्ने कि बर्सेनि लेखापरीक्षणको प्रतिवेदनमा चडाउँदै जाने हो भन्ने शंका उपभोक्तामा जीवित छ । “आर्थिक अनियमितता अनि विगतको पेश्की रकम अहिलेको नेतृत्वले असुल गर्न सक्यो भने पनि त्यो सफल मानिने छ ।” अर्का उपभोक्ता सुरेन्द्र रावलले भने, “होइन, प्रयास जारी छ भन्ने बर्सेनि प्रतिवेदनमा चडाउने काम भयो भने पनि नेतृत्व माथी शंका रहने छ ।” सामाजिक रुपमा देखिएका नयाँ अनुहारका लागि खानेपानीको नेतृत्व अग्नि परिक्षा हुने उनको बुझाई छ । सबैभन्दा ठूलो चुनौती त संस्थाको ऋण चुक्ता गर्नु छ । त्यसमा नेतृत्व कती सफल हुन्छ हेर्न बाँकी नै छ ।

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *