शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०४ पुस /
परिश्रम गरे स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरी पालनबाट बर्सेनि करोडौंको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायी मात्रै होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।
२०५५ सालदेखि माहुरी पालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौं युवाहरू माहुरी पालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२/१५ जना माहुरी पालक किसान रहेको दाङमा अहिले चारपाँच सय युवाहरू त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सिमित व्यक्ति मौरी पालनमा थियौं । अहिले दाङमा मात्रै चारपाँच सय जना पुगिसक्नुभएको छ ।” उहाँ भन्नुहुन्छ, “थोरै लगानीले मनग्ये आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ ।”
दाङदेखी कैलाली सम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुग्नुभएको छ । उहाँले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरुमा राख्नुभएको छ । “आजभोलि तोरीको फुल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिड्ने गरेका छौँ ।” उहाँ भन्नुहुन्छ, “तोरीको सिजन सकिएपछि जता फुल फुल्यो माहुरी घार त्यतै पुग्छन् ।”
उहाँका अनुसार कैलाली लगायतका तराइका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौं मौरी पालक किसान माहुरीका घार बोकेर आउने गरेका छन् । उहाँहरु कैलाली, बर्दीया, बाके, दाङ जिल्लाका विभिन्न क्षेत्रमा माहुरीका घार बोकेर चराउन जाने गर्छन् ।
मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ । “दाङको हावापानी माहुरीका लागि राम्रो छ । तोरी अनि मकै खेती राम्रो हुने हुँदा पनि मौरी व्यवसाय राम्रो भएको पाइन्छ ।” हमाल भन्नुहुन्छ, “तोरी र मकैको फुल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।”
स्वर्गद्वारी बिकन्सर्न प्रालि मार्फत माहुरी पालन गर्दै आउनु भएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने अप्रत्यक्ष रुपमा सयौं व्यवसायसँग जोडिएका छन् । हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो । “आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजि मह उत्पादन गर्छौं ।” उहाँ भन्नुहुन्छ, “त्यो मह न्युनतम पाँच सय रुपैयाँ प्रती केजि भन्दा बढीमा बिक्रीवितरण गर्दै आएका छौँ ।” महको मूल्य पनि फुलको स्रोतको आधारमा तय गरिने उहाँ बताउनुहुँन्छ ।
माहुरी पालक किसानलाई बजारको कुनै समस्या छैन । अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाई छ । काठमाडौं लगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आउनुभएका उहाँ धेरै उत्पादन कम्पनीमा नपुर्याएरै बिक्रि हुने गरेको विनोद बताउनुहुँन्छ । उहाँको परिवार नै माहुरी व्यवसायमा लागेको छ ।
पैसा कमाउनका लागि विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । “पैसा विदेश भन्दा स्वदेशमा धेरै छ । हामी जसरी खटिएर विदेशमा आठ घण्टा काम गर्छौं, त्यसैगरी स्वदेशमा गरौं त ।” उहाँ भन्नुहुन्छ, “१० घण्टा कुरा गएर अनि सामाजिक संजाल चलाएर बेथित गर्दा बाँकी दुईतीन घण्टा काम गरे जस्तो गएर पैसा कमाउन सकिँदैन । आम्दानी हुँदैन । व्यवसायमा दत्तचित्त भएर लाग्यो भने हरेक व्यवसायको स्वदेशमा सम्भावना छ ।”









