शेयेर गर्नुहोस
टीकापुर २८ फागुन /
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले प्रविधिको प्रयोग मार्फत कृषिमा लागत घटाएर उत्पादन र आम्दानी बढाउन सकिने बताउनुभएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कैलालीको आयोजनामा जानकी गाउँपालिका वडा नं. ४ मुनुवामा मेशिनद्वारा चैते धानको रोपाइँ कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री परियारले कृषिमा प्रविधिको प्रयोगले लागत घटाउँदै उत्पादन र आम्दानी बढाउन सकिने बताउनुभएको हो । “अहिले पनि हाम्रो कृषि परम्परागत रुपमै चलिरहेको छ । यसबाट लागत बढेको छ । श्रम बढी लागेको छ ।” उहाँ भन्नुहुन्छ, “प्रविधिको प्रयोग हुन सके लागत मात्रै होइन श्रमको पनि कम खपत हुने र उत्पादन बढावा दिन सकिन्छ ।”
उहाँले किसानको उत्पादन लागत बढी भएकै कारण बजार मुल्यमा देखिने असन्तुलनले किसानहरूले उत्साहित बन्न नसकेको स्वीकार गर्नुभएको छ । प्रविधिको प्रयोगले जनशक्तिको अभावलाई परिपुर्ति गर्ने भन्दै मन्त्री परियारले कृषि क्षेत्रको विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लागत कम भएपछि बजार मुल्यमा समस्या नहुने बताउनुभयो । “बजारीकरणमा समस्या पक्कै छ । त्यो समस्या समाधान गर्न तिनै तहको सरकारको समन्वय पनि जरुरी छ ।” उहाँ भन्नुहुन्छ, “अर्कोतिर किसान अझै यान्त्रिकरणमा विश्वस्त हुन सक्नुभएको छैन । जुन कारण बजार मूल्यसँग किसानको मुल्यले मेल खान सकेको छैन ।”
चालू आर्थिक वर्षमा सरकारले रासायनिक मल खरिदका लागि ३९ अर्ब बजेट अनुदान दिएको बताउँदै मन्त्री परियारले किसानले रासायनिक मलको विकल्पमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । “मलका लागि २९अर्ब अनुदान दिएका छौँ । अहिले विश्व बजारमा देखिएको उतरचढावले समस्या उत्पन्न नहोला भन्न सकिन्न ।” मन्त्री परियार भन्नुहुन्छ, “रासायनिक मलको विकल्पमा अन्य जैविक मलमा किसान केन्द्रित हुनुपर्छ । जैविक मल उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।”
सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले प्रदेश सरकारले प्रदेशमा एक पालिका दुई उत्पादन कार्यक्रमलाई प्राथमिकताका साथ लागू गरेको बताउँदै कैलालीको जानकी गाउँपालिका र भजनी नगरपालिकामा चैते धानलाई प्राथमिकता दिएको बताउनुभएको छ । “कृषि बिना समृद्धि हासिल गर्न सम्भव छैन ।” उहाँ भन्नुहुन्छ, “हामी तीन तहको सरकारले किसानको उत्पादन र बजारीकरणमा ध्यान दिन सके अझै कृषि तर्फ आकर्षण बढाउन सकिन्छ ।”
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका योजना प्रमुख माधव पौडेलले मेसिनको प्रयोग गरेर धान रोपाइँ गर्दा किसानको परम्परागत धान रोपाइँ भन्दा झन्डै ३० प्रतिशत कम लागत लाग्ने गरेको बताउनुभयो । “यसको समस्या बीउ उत्पादनमा हो । मेसिनबाट रोप्ने धानको बीउ ट्रेमा उमार्नुपर्छ ।” उहाँ भन्नुहुन्छ, “चितवन, बर्दिया लगयतका जिल्लामा सफल कार्यान्वयन पछि कैलालीमा यसवर्षबाट परियोजनामार्फत मेसीनबाट धान रोप्न थालनी गरेका छौँ ।” मेसिनको प्रयोग गरेर रोपाइँ गर्दा प्रती घण्टा १५ कट्ठा क्षेत्रफल धान रोपाइँ गर्न सकिने पौडेलले बताउनुभयो । किसानको मागका आधारमा ८५ प्रतिशतसम्म अनुदानमा मेशिन वितरण गर्न सकिने योजना प्रमुख पौडेलले बताउनुभएको छ । परियोजनाले धान रोप्ने मेशिन बिज वृद्धि कृषक सहकारी संस्थालाई उपलब्ध गराएको छ ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले हरेक कुरामा परनिर्भर हुनुपर्ने भएका कारण किसान समस्यामा रहेको बताएका छन् । “समयमा मल छैन । प्रविधि छैन । परनिर्भरतामा रहेर कृषि गरिरहनु परेको छ ।” उहाँले भन्नुभयो, “यसरी काम गर्दा उत्साह आउँदैन । अझ जेनतेन काम गरेर भएको उत्पादनले बजार पाउँदैन भने कसरी किसान उत्साहित हुन्छ ?” उहाँले किसान बिना देशको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै बजार मूल्य नपाएकै कारण असोजमा उत्पादन गरेको धान घरमै राख्नुपरेको गुनासो गर्नुभयो ।
उता, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानले प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनु ठूलो कुरा नभएको उल्लेख गर्दै उत्पादन भएको वस्तुको उचित मुल्य सहित बजारीकरण प्रमुख समस्या भएको बताउनुभएको छ । उहाँले किसानले बिक्रि गरेको धान किन्ने व्यक्ति साहु हुने तर त्यहीँ उत्पादन गर्ने किसान कहिले साहु हुने भन्दै प्रश्न समेत गर्नुभएको छ ।
कैलाली जिल्ला समन्वय समितिका सभापति टीका कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यान्वयन इकाई प्रमुख सन्जु रिमालले गर्नुभएको थियो ।






