शेयेर गर्नुहोस
टीकापुर ३० फागुन /
भरखरै सकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट निर्वाचित भएकी कोमल ज्ञवाली मतदातालाई धन्यवादसम्म नभनी काठमाडौं लागेपछि मतदाताले प्रश्न गर्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट १७ हजार ८ सय २६ मत ल्याएर निर्वाचित भएकी ज्ञवाली एकाएक काठमाडौं लागेपछि मतदाताले उनको खोजी गर्न थालेका हुन । अन्य निर्वाचन क्षेत्रमा निर्वाचित उम्मेदवारले मतदातालाई धन्यवाद दिँदै स्थानीयका समस्या संकलन गरिरहँदा ज्ञवाली मतदाता माझ नपुगेपछी मतदाता निराश देखिन थालेका छन् । मतदाता निर्वाचित उम्मेदवार खोजिरहेका छन् । कतिपय मतदातालाई आफुले मत दिएर निर्वाचित भएका उम्मेदवारलाई चिन्न समेत पाएका छैनन् ।
“मतगणना सकिएको यत्रो दिन भयो निर्वाचित उम्मेदवार हामीलाई धन्यवाद सम्म भन्न आउनुभएन ।” स्थानीय सुरेन्द्र विश्वकर्माले भने, “जसले चुनाव जिते पनि हाम्रो क्षेत्रको यो राजनीतिक अस्थिरता अझै लम्बिने देखियो । मत दियौं, धन्यवादसम्म भन्न हाम्रो सांसद आउनुभएन । अन्य विकासको के आशा गर्नु ?” उनले जुनसुकै दल, जुनसुकै नेतालाई विजयी गराउँदा पनि आफ्नो स्वार्थ पूरा नहुँदासम्म मात्रै जनताको हुने गरेको गुनासो गरेका छन् ।
क्षेत्र नं. १ सँगै जोडिएको कैलाली क्षेत्र नं. २ मा पनि रास्वपाका केपि खनाल निर्वाचित भएका थिए । उनले अहिले चुनावी प्रचारप्रसारको समय भन्दा व्यापक भेटघाट निर्वाचित भएपछि गरिरहेका छन् । हरेक टोल, हरेक समुदायमा पुगेर मतदातालाई धन्यवाद दिँदै जनताको समस्या बुझिरहेक छन् । जनताला साझा योजना संकलन गरिरहेका छन् । यस्ता गतिविधि सामाजिक सञ्जालमा देखेपछि मतदाताले आफ्नो निर्वाचित उम्मेदवार खोज्नु स्वभाविक पनि हो ।
उसो त रास्वपाले ज्ञवाली उपचारका लागि काठमाडौं गएको बताएको छ । पार्टीका टीकापुर नगर सभापति रवीन्द्र विष्टले घाटीमा समस्या देखिएपछि उपचारका लागि चुनाव सकिएलगतै काठमाडौं जानुपरेको बताएका छन् । “उहाँ घाटीमा समस्या देखिएपछि बोल्न नसक्ने भएर उपचार गर्न काठमाडौ जानुभएको हो ।” सभापति विष्टले भने, “एकदुई दिनमा फर्किने कुरा भएको छ । उहाँ फर्किएपछि जनताको माझमा धन्यवाद कार्यक्रम सहित जनताको समस्या संकलन गरिने छ ।” उनका अनुसार क्षेत्र नं. १ मा धन्यवाद कार्यक्रम कार्यतालिका सार्वजनिक गरेर आयोजना गरिने बताएका छन् ।
कैलाली क्षेत्र नं. १ मा उम्मेदवार सिफारिस देखि नै पार्टी भित्र चुलिएको असन्तुष्टिका बाबजुद ज्ञवाली पार्टी भित्र जानकारी नै नगराएर काठमाडौं गएको बुझिएको छ । “पार्टी भित्रका कैयौं व्यक्तिलाई ज्ञवाली काठमाडौं गएको थाहै थिएन ।” रास्वपका एक नेताले भने, “पछि काठमाडौं पुगेपछि मात्रै थाह भयो कि उहाँ काठमाडौं जानुभएको भन्ने कुरा ।” उपचारका लागि भन्दा पनि तत्कालीन नाउपाका वरिष्ठ नेता दामोदर पण्डितले बोलाए पछि ज्ञवाली काठमाडौं गएको स्रोतको भनाई छ ।
खासगरी रास्वपामा लागेका पार्टीका पुराना नेतासँग तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट रास्वपामा समाहित भएका नेताहरुको समन्वय कम हुने गरेको पाइएको छ । त्यो निर्वाचनको समयमा पनि देख्न सकिन्थ्यो । ज्ञवाली निर्वाचित भएपछि पनि भित्री रुपमा रास्वपाको विवाद समाधान उन्मुख नभएको पाइएको छ । ज्ञवालीलाई हामीले सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन ।








