जडान नहुँदा इन्भटर ब्याट्री अलपत्र

शेयेर गर्नुहोस


टीकापुर ०६ चैत /
बजेटको अभावले गत आर्थिक वर्षमा खरिद गरिएका ब्याट्री चालू आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि जडान नभएको पाइएको छ ।
नगरपालिकामा विद्युत लाइन नहुँदा पनि कार्यालयको कामकाज गर्न सहज होस् भन्ने उद्देश्यले खरिद भएका ब्याट्री बजेट अभाव हुँदा जडान हुन नसकेका हुन । गर्मीयाम सुरु भएपछि विद्युत पटकपटक जान थालेपछि त्यसको असर नगरपालिकाको कामकाज पर्न थालेको छ । बत्ती जाँदा कम्प्युटरमा भैरहेको काम प्रभावित हुने गरेको छ भने सेवाग्राहीले समयमा पाउनुपर्ने सेवा समेत प्रभावित बनेको छ ।
नगरपालिकामा केही विद्युतको बढी आवश्यकता भएका शाखामा इन्भटर जोड्न गत आर्थिक वर्षमा नगरपालिकाले १० वटा ब्याट्री र दुईवटा अनलाइन युपिएस खरिद गरेको थियो । त्यसमध्ये दुईवटा ब्याट्री वडा नं. २ को कार्यालयमा प्रयोग भएका छन् भने अन्य ८ वटा ब्याट्री नगरपालिका भित्र यत्रतत्र छन् । केही सिढीमा समेत थन्किएका छन् । “आवश्यकताको महसुस नगरी खरिद भएका ब्याट्री जस्ता कैयौं सामान अलपत्र होलान्, यी त आँखा अगाडि देखेपछि थाहा भएको छ ।” नगरपालिकामा सेवा लिन आएका एकजना सेवाग्राहीले भने, “पैसा तिर्ने जनता छदैछ्न । जे गरे पनि भयो । जताततै मनपरि त छ ।”
उसो त महालेखाले समेत उक्त ब्याट्रीको विषयमा प्रश्न उठाएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा औचित्य र आवश्यकताको विस्तृत अध्ययन नगरी खरिद भएका सामाग्रीको औचित्य पुष्टि हुन नसके खरिद प्रक्रिया अगाडि बढाउने र खरिद गर्नेबाट असुल उपर गरिनुपर्ने उल्लेख गरिएको छ । नगरपालिकाकी स्टोर शाखा प्रमुख दिला कुमारी जोशी रेग्मीले केही दिनमा लागत स्टिमेट बनाएर ब्याट्री जडान गरिने बताइन् । “गतवर्ष असारमा खरिद गरियो । त्यो समयमा बजेटको सुनिश्चितता नभएपछि युपिएस र ब्याट्री जडान गर्न सकिएन ।” उनले भनिन्, “अहिले पनि हामीसँग त्यसका लागि छुट्टै बजेट त छैन तर पनि त्यसलाई केहि दिनमा जडान गर्छौं ।”
उनले नगरपालिकामा दिनप्रतिदिन विद्युतको भार बढ्दै गएको बताउँदै ब्याट्री जडान गरेर समस्या समाधान नहुने बताइन् । शाखा प्रमुख रेग्मीले नगरपालिकालाई जेनेरेटर आवश्यक रहेको उल्लेख गरिन । “गर्मीयाम सुरु हुँदैछ, विद्युतको भार बढ्ने निश्चित छ । गतवर्ष त्यसैका कारण आगलागी भएको थियो ।” उनले भनिन्, “नगरपालिकालाई जेनेरेटर निकै आवश्यक छ ।” नगरपालिका मातहतमा रहेका केही स्वास्थ्य केन्द्रमा जेनेरेटर छन् । कोइकाले निर्माण गरेका स्वास्थ्य केन्द्रमा रहेका जेनेरेटर अन्य क्षेत्रमा लैजाने अनुमति नभएका कारण नयाँ खरिद गर्नुपर्ने बताएकी छन् ।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *