एक वर्ष अगाडि सकिँदै पुलको काम

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०३ वैशाख /
कैलालीको टीकापुर र बर्दिया क्षेत्रमा पर्ने कर्णाली नदीमा वर्षौंदेखि सञ्चालन हुँदै आएको डुङ्गा विस्थापित गर्दै सम्झौताको एक वर्ष अगाडि नै झुलुङ्गे पुलको काम सम्पन्न हुन लागेको छ ।
कर्णाली नदीमा दुईवटा थप पुल निर्माण सम्पन्न हुन लाग्दा वर्षौंदेखि यात्रु ओहोरदोहोरका लागि प्रयोग हुँदै आएको डुङ्गा विस्थापित हुँदै कर्णाली सन्कट्टीमा पक्की पुलसँगै दौलतपुरमा झुलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
टीकापुरबाट बर्दिया राजापुर नगरपालिका जोड्ने दौलतपुरमा झुलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा छ भने बर्दियाकै गेरुवा गाउँपालिका जोड्ने सनकट्टीमा पक्की पुलको काम अन्तिम चरणमा रहेको छ । २०८४ असार ११ गतेसम्म झुलुङ्गे पुल निर्माणको समय पाएको थानी निर्माण सेवाले झण्डै ९ महिनामा ८५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । २०८२ असार ११ गते सम्झौता भएको उक्त आयोजनाको काम जेठ मसान्तसम्म सम्पन्न गर्नेगरी काम भैरहेको निर्माण सेवाका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिनुभयो । “हामीसँगक पुलको लाइन तान्ने, संरचना निर्माण गर्ने काम सम्पन्न गरिसकेका छौँ ।” उहाँ भन्नुहुन्छ, “अब फलामका पाता जोड्न बाँकी छ । त्यसमा धेरै समय लाग्दैन ।” १५ करोड ७३ लाख ९५ हजार पाँच सय २८ रुपैयाँको लागतमा बन्न लागेको उक्त पुलको लम्बाई चार सय ८२ मिटर रहेको छ ।
अहिले दौलतपुरहुँदै ओहोरदोहोर गर्ने नागरिकहरू ढुङ्गाको प्रयोग गर्दै आएका छन् । “कर्णाली वारपार गरेर जान डुङ्गाको विकल्प छैन । जोखिम भए पनि त्रासका बाबजुद यात्रा गर्नुपरेको छ ।” राजापुर नगरपालिका नारायण चौधरीले भन्नुभयो, “यसवर्षबाट त्यो बाध्यता हट्ने विश्वास छ ।” उहाँले पुल निर्माणको काम निरन्तरता हुँदा समयभन्दा अगाडि नै काम सम्पन्न हुने बताउनुभयो ।
डुङ्गाकै भरमा रहेको सनकट्टीस्थित कर्णाली नदीमा निर्माणाधीन पुल सम्पन्न लागेको छ । पुल २०८३ असोजमा सक्ने गरी २०७९ पुसमा ठेक्का सम्झौता भए पनि समयभन्दा अगाडि काम सम्पन्न हुने रसुवा कन्स्ट्रक्सनका साइड इन्चार्ज कृष्ण ढुङ्गेलले जानकारी दिनुभयो । पुलको काम करिब ९२ प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार जेठ भित्र पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ । ७ सय ५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलका १४ वटै पिल्लर बनिसकेका छन् । पुल निर्माणमा एक अर्ब चार करोड रुपियाँ र बाटो तथा नदी नियन्त्रणका लागि थप १४ करोड रुपियाँ गरी एक अर्ब १८ करोड रुपियाँको लागतमा पुल निर्माण भइरहेको छ ।
दैनिक कामको लागि ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेका स्थानीयलाई पुल निर्माण पछि निकै सहज हुने छ । टीकापुरको आवागमन सहज भएपछि टीकापुरको बजार थप चलायमान हुने विश्वास गरिएको छ । “पुल निर्माणको लागि कैयौं प्रयास भए । महोत्सवको प्रमुख एजेन्डा बन्यो ।” टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकश तिमिल्सिनाले भन्नुभयो, “व्यापारिक गतिविधि मात्रै नभई अब शैक्षिक तथा अन्य गतिविधि पनि बढ्ने विश्वास गरेका छौँ ।”
कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा चारवटा पुल निर्माण भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत कर्णाली चिसापानी पुलले सुदुरपश्चिमलाई पुर्वसँग जोडेको थियो । त्यसपछि हुलाकी राजमार्ग अन्तर्गत टीकापुर सत्तीमा पक्की पुल निर्माण भएको थियो । अहिले सन्कट्टीमा पक्की पुल र दौलतपुरमा झुलुङ्गे पुलको काम अन्तिममा पुगेको छ । यसपछि कर्णाली नदीमा यात्रु ओहोरदोहोर गर्न प्रयोग हुँदै आएको डुङ्गा विस्थापित हुने विश्वास गरिएको छ ।

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *