फेरि उठ्यो तालतलैया बक्यौताको विषय

शेयेर गर्नुहोस


भजनि ०३ वैशाख /
भजनी नगरपालिकाले वर्षौंदेखि थपिँदै आएको तालतलैयाहरुको बक्यौता एक हप्ता भित्र तिर्न सुचना जारी गरेको छ ।
नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार मानिएको नगरपालिका भित्रका तालतलैयाको ठेक्का बापतको करोडौं रकम लामो समयदेखि ठेकेदारले नतिरेपछि फेरि नगरपालिकाले सुचना जारी गरेको हो । तालतलैया ठेक्का मार्फतको नगरपालिकाले झण्डै साढे पाँच करोड बक्यौता उठाउन बाँकी छ । बक्यौता उठाउन यसभन्दा पहिले पनि निकै प्रयास गरेको नगरपालिका कहिल्यै सफल हुन सकेन । नगरपालिकाले ३५ दिने सुचना देखि सम्बन्धित ठेकेदारलाई पटकपटक पत्राचार गर्दै छलफल समेत गरेको थियो ।
यसपटक पुनः सात दिनको समय दिँदै नगरपालिकाले तालतलैया ठेक्का मार्फत बक्यौता रहेको रकम बुझाउन भनेको छ । त्यो समयभित्र आफ्नो नाम वा फार्मको नाममा रहेको बक्यौता नतिरे कानुनी प्रक्रियामा अगाडि बढ्ने बताइएको छ । “यसभन्दा पहिले के भयो भन्दा पनि अब हामी प्रक्रियामा जान्छौं ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले भने, “ठेक्का लिनेको तीन पुस्ते नामावली सार्वजनिक गर्ने, स्थानीय तहबाट प्रवाह हुने सेवासुविधा रोक्ने देखि बाँकी कानुनी बाटोबाट समाधानको प्रयास गर्छौं ।”
उनले राज्यलाई तिर्छु भनेर भनेको रकम जुनसुकै हालतमा पनि तिर्नुपर्ने उल्लेख गर्दै समयमा आफ्नो नामको बक्यौता तिर्न आग्रह समेत गरेका छन् । उनका अनुसार अहिले अधिकांश तालतैयाको ठेक्का समयावधि पनि सकोएको छ । तालको नयाँ ठेक्का प्रक्रिया नगरपालिकाले सुरु गर्दा २०७२ सालदेखिकै तालको बक्यौता उठाउन सकेको छैन । राजनीतिक दाउपेचका कारण तालतलैयाको रकम समयमा उठन नसकेको हो । अर्कोतिर सामुदायिक वन र नगरपालिकाको बीचमा कुरा बाझिँदा पनि समस्या आएको देखिन्छ ।
सामुदायिक वनभित्रका तालतलैया सामुदायिक वन समुहले आफ्नो मातहतमा रहनुपर्ने बताउँदै आएको छ भने नगरपालिकाले आफ्नो मातहत हुने दाबी गर्दै आएको छ । त्यसैको फाइदा ताल ठेक्का लिने ठेकेदारले उठाउँदै आएका छन् । सामुदायिक वनले आफुहरुलाई ताल सञ्चालनमा अवरोध पुर्याउँदा काम गर्न नसकेको र सम्झौता अनुसारको पैसा तिर्न नसक्ने बताउँदै आएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *