लालीबजारको ट्रेलर सार्वजनिक

शेयेर गर्नुहोस


काठमाडौं ०४ वैशाख /
षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा आमा र छोरी बिचको कथा देखाइएको छ ।
बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र  विशाल देवकोटा प्रमुख अभिनय रहेको छ
अभिनेत्री खड्काले फिल्म ‘लालीबजार’ आमाको सङ्घर्ष र सफलताको कथा रहेको बताइन । उनले भनिन्, ‘लालीबजार मेरो लागि निकै स्पेसल फिल्म बनेको छ । मैले गरेका फिल्महरूमा धेरै समयमा सम्झिने र आगामी धेरै वर्षसम्म कुरा हुने फिल्ममा यो पर्ने छ । म यो कथालाई लिड गर्न पाउँदा वा आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छु ।’
अभिनेता रवीन्द्र सिंह बानियाँले फिल्मले एउटा महिलाको जीवनका विभिन्न आयामलाई समेटेको बताए ।  ‘हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौँ, तर यो आमा र छोरीको कथा हो । बाध्यता, विश्ववास, सङ्घर्ष र सफलतालाई यसमा देखाइएको छ’, उनले भने ।
निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।
‘लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लगेर हामीले निर्देशनको प्रस्ताव गरेका हौँ । अहिले हामीले सही निर्णय गरेका थियौँ भन्ने लागेको छ, फिल्ममा निर्देशकको दिमागसँगै उहाँको देखाई र बुझाइ मिसिएको छ’, कार्यकारी निर्माता प्रदीप भट्टराईले भने ।  

निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषय प्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो।
‘षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरेको थियो, सोहीक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो । छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने रवीन्द्रसिंह बानियाँले भन्नुभयो । मसँग रहेको आमाको विषय मैले दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौँ । त्यसरी लालीबजारको सुरुआत भएको हो’, निर्देशक थापाले भने ।
फिल्मको पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल भिजिटका क्रममा निर्देशक भट्टराईले नै फिल्मको नाम ’लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए । निर्देशक थापाले आमाछोरीको कथामा फिल्म तयार भएको बताए । ‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो बादी समुदायको छन् । फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने ।
फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन् । दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन् । फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रूपमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेनजी अभियन्ताका रूपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मको ट्रेलर षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायाङ्कन निर्देशक सुशन प्रजापति, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

ताजा खबर

आइएमईद्वारा अभिभावकसँग छलफल

अवैध माछा बरामद गरी नष्ट

लालीबजारको ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *