शेयेर गर्नुहोस
टीकापुर २२ वैशाख /
टीकापुर स्थित कर्णाली माद्यामिक बिधालयले विद्यार्थीहरुलाई बिधालयसम्मको आवागमन सहज बनाउँदै बस सेवा सञ्चालन गर्ने भएको छ ।
टाढाका बिद्यार्थीहरु सहजरूपमामा बिधालय पुग्न सकुन भन्ने उद्देश्यले बिधालयले बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । यो टीकापुर नगरपालिका भित्र सामुदायिक बिधालयले सञ्चालन गर्ने पहिलो बस सेवा हो । यसभन्दा पहिले संस्थागत बिधालयहरुले बिद्यार्थीका लागि बस सेवा सञ्चालन गर्दै आएको भए पनि सामुदायिक बिधालयले गरेका थिएनन् । कक्षा पाँचसम्म बिधालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गर्दै बिधालयले यहीँ वैशाख २८ गतेबाट बस सेवा सञ्चालन गर्ने छ । टीकापुर नगरपालिका वडा नं. १ भित्रका बालबालिकालाई लक्षित गरेर बस सेवा सञ्चालन गर्न लागेको प्रधानाध्यापक धर्मराज शर्माले जानकारी दिएका छन् ।
टीकापुर नगरपालिकाले प्राविधिक क्षेत्रका बिद्यार्थीहरुलाई लक्षित लक्षित गर्दै बिधालयलाई बस हस्तान्तरण गरेको थियो । सोही बसले अब बिधालयमा अध्ययनरत प्राथमिक तहका बिद्यार्थी बोक्ने छ । “अभिभावकहरुको मागअनुसार नै बस सेवालाई सञ्चालन गर्न लागेका हौ ।” प्रधानाध्यापक शर्माले भने, “बस सेवा सञ्चालन भएपछि रिक्सामा तथा साइकलमा आउने बिद्यार्थीहरुलाई सहज हुनेछ ।”
सामुदायिक बिधालयमा बालबालिकालाई अध्यापन गराउँदै आएका अभिभावकहरुले तेल खर्च बापतको केही रकम तिर्ने भनेपछि बस सञ्चालनमा ल्याउन लागिएको प्रधानाध्यापक शर्मा बताउँछन् । उनका अनुसार टीकापुर सुकुम्बासी शिविर हुँदै जोतीनगर क्षेत्रसम्मका बालबालिकालाई बिधालयले बस सेवा उपलब्ध गराउने छ । “समयमा अटो रिक्सा नपाइने समस्या त कहिले साइकल बिग्रेर बिधालय समयमा बालबालिकालाई पुर्याउन नसकिएको गुनासो अभिभावकबाट आउने गर्थ्यो ।” प्रधानाध्यापक शर्मा बताउँछन्, “अब त्यो समस्या आउने छैन । हामी बालबालिकालाई घरबाटै ल्याएर आउने छौँ भने घरमै पुर्याउने छौँ ।”
टीकापुर नगरपालिका भित्रकै सबैभन्दा बढी बिद्यार्थी रहेको कर्णाली माद्यामिक बिधालय सामुदायिक बिधालय भित्रको अब्बल बिधालयको रुपमा स्थापित बिधालय हो । गत शैक्षिकसत्रमा यस बिधालयमा दुई हजार ९४ जना बिद्यार्थी अध्ययन गरेका थिए भने यस शैक्षिकसत्रको सोमबारसम्म चार सय भन्दा बढी नयाँ बिद्यार्थी भर्ना भैसकेका छन् ।
यसै शैक्षिकसत्रबाट टीकापुर नगरपालिका वडा नं. ८ स्थित त्रिभुवन माद्यामिक बिधालय बटनपुरले प्राथमिक तहमा अध्ययन गर्ने टाढाका बिद्यार्थीका लागि अटो रिक्सा सेवा सुचारु गरेको थियो ।









