प्लास्टिकका झोलाको प्रयोगमा नगरपालिकाको कडाइ

शेयेर गर्नुहोस


टीकापुर २३ वैशाख /
टीकापुर नगरपालिकाले प्लास्टिकका झोलाको निरुत्साहितका लागि कडा कदम चालेको छ ।
गएको साउन १ गतेबाट नगरपालिकाले कार्यविधि तयार पारेर प्लास्टिकका झोलाको प्रयोग निषेध गर्दै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । केही समय प्लास्टिकका झोलाको प्रयोग रोकिए पनि पुनः प्रयोग हुँदै आएको थियो । मंगलबार टीकापुर बजारको अनुगमन गर्दै नगरपालिकाले थोक बिक्रेतालाई अन्तिम चेतावनी दिएको छ ।
थोक बिक्रेताले एक हप्ता भित्र भएका सबै प्लास्टिकका झोला व्यवस्थापन गरिसक्नुपर्ने छ । त्यो व्यवस्थापनको नाममा ग्राहकलाई सामान दिँदा प्लास्टिकको झोलामा दिन पाइने छैन । नगरपालिका बाहिरका स्थानीय तहका व्यापारीलाई दिन मिल्ने छ भने नत्र खरिद गरिएको सप्लायर्समा फिर्ता पठाउनुपर्ने छ । त्यो पनि नगर प्रहरीको निगरानीमा गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् । “प्लास्टिक भेटिएका पसललाई एक हप्ताको अल्टिमेटम दिएका छौँ ।” उनले भने, “त्यो समयभित्र प्लास्टिकका झोलाको बिक्रीवितरण तथा प्रयोग रोकिएन भने कारबाही हुन्छ ।”
सरकारले कार्यान्वयनमा ल्याएका कानुनलाई कार्यान्वयन गर्ने पाटोमा नागरिकहरू कटिबद्ध हुनुपर्नेमा जोड दिँदै नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीले प्लास्टिक निरुत्साहितको अभियान पनि स्थानीय नागरिकहरूको हितको लागि नै कार्यान्वयनमा ल्याइएको बताएका छन् । “हामी आफ्नो कर्तव्य प्रती जिम्मेवार हुनैपर्छ ।” उनले भने, “अरुलाई दोष देखाउन सजिलो मान्नेले आफ्नो गतिविधिको समिक्षा गर्न सके समाज परिवर्तनका लागि समय लाग्दैन ।”
नगरपालिकाको सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले अप्रत्याशित प्लास्टिकको प्रयोगले फोहोर व्यवस्थापनमा चुनौती थप्दै गएको भन्दै यसभन्दा पछि प्लास्टिकको कारोबार तथा प्रयोग भएको देखे कारबाही गरिने बताएका छन् । “साउन १ गतेबाट प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको सबैलाई थाहा छ । पटकपटक चेतावनी दिँदा पनि कार्यान्वयन फितलो भएको छ ।” उनले भने, “यो अन्तिम पटकको चेतावनी हो, यसपछि अटेर गरे सिधै कारबाही हुन्छ ।”
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रशासन अधिकृत शर्पानन्द चपाईले प्लास्टिकको प्रयोगले मानव जीवनमा अप्रत्यक्ष रुपमा धेरै असर पार्दै गएको बताउँदै त्यसलाई निरुत्साहित गर्नमा सबैको एक्यवद्धता आवश्यक रहेको बताएका छन् । टीकापुर नगरपालिका, इलाका प्रशासन, इलाका प्रहरी लगायतको अनुगमन टोलीले बजार क्षेत्रको अनुगमन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *