होमस्टे व्यवस्थापन तालिम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०२ जेठ/
सामुदायिक होमस्टे व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको सामुदायिक होमस्टे व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको हो । गाउँपालिकाको तीन स्थान अमौरी, जगतपुर र बक्लौवा होमस्टेका सञ्चालकहरुको सहभागितामा तालिम भएको थियो । समापन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले थारु होमस्टे पहिचानसँग जोडिएको बताएका छन् । थारुको मौलिकता होमस्टेमा झल्काउने गरेको बताउँदै त्यसको संरक्षण गर्दै पर्यटन क्षेत्रलाई सँगै जोडेर घरमै रोजगारी सिर्जना होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
उनले समय व्यवस्थापन र स्रोत व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन् ।
सिमित स्रोतसाधनका बाबजुद धेरै नतिजामुखी काम गर्न गाउँपालिका अग्रसर रहेको बताउँदै अध्यक्ष चौधरीले हरेक सिकाईलाई व्यवहारमा लागु गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले होमस्टे व्यवस्थापन तालिमले स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन् । उनले आगामी दिनमा पनि मागका आधारमा बजेट विनियोजन समेत आश्वासन दिएका छन् ।
पुर्व संविधान सभा सदस्य सुकदैया चौधरीले थारु समुदायको हरेक परिकार अर्गानिक हुने बताएकी छन् । उनले थारु समुदायले प्रयोग गर्ने भाडाकुडा परिवर्तन हुँदै गएको बताउँदै त्यसले थारुको पहिचान संकटमा पर्दै गएको बताएकी छन् । चौधरीले होमस्टेले विकास, पर्यटन, कला संस्कृति लगायतका सम्भावनाहरुलाई जोडेको बताइन् । वडा नं. ५ का वडा अध्यक्ष भीमबहादुर चौधरीले होमस्टेले थारुको लोप हुँदै गएको उत्पादन र कला संस्कृति फर्काएको बताएका छन् । उनले होमस्टेले थारु समुदायको इतिहासलाई संरक्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।
तालिममा सहभागीले कैयौं थारु परिकार बनाउन सिकाइ भएको बताउँदै संस्कृतिको संरक्षणमा तालिमले सहयोग पुर्याएको बताएका छन् । कार्यक्रमको सञ्चालन नेत्रप्रसाद जैशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *