शेयेर गर्नुहोस
टीकापुर १० जेठ/
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले पुस्तकालयलाई सबैको साझा थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
टीकापुर सामुदायिक पुस्तकालयको छैठौं चुनावी वार्षिक साधारण सभामा बोल्दै कार्यबाहक नगर प्रमुख नगार्जीले पुस्तकालयमा सबै क्षेत्र र वर्गको सहभागिता रहने हुँदा त्यसलाई साझा थलोको रुपमा विकास गर्नुपर्ने बताएका हुन । “पुस्तकालय सबैको साझा हो र हुनुपर्छ ।” उनले भने, “पुस्तकालयले सभ्य समाज निर्माण गर्नसक्ने क्षमता राख्नुपर्छ ।” शैक्षिक क्षेत्रलाई राजनीति गर्ने थलोको रुपमा परिभाषित नगर्न आग्रह गर्दै समावेशी ढंगबाट पुस्तकालयको नेतृत्व सर्वसम्मत हुनुपर्ने कार्यवाहक नगर प्रमुख नगार्जीको जोड छ । टीकापुर सामुदायिक पुस्तकालयका लागि नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलले परिवर्तित समयसँगै पुस्तकालयलाई परि परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । “हिजो पुस्तकालय स्थापना गर्दाको लक्ष्य भन्दा समय धेरै फरक भैसकेको छ ।” उनले भने, “अब अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै पुस्तकालयमा पाठक पुग्ने वा पुस्तकालयलाई पाठकसम्म पुर्याउने गरी परिमार्जन आवश्यक छ ।” उनले हरेक संघसंस्था दीर्घकालीन सोचका साथ सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
पुस्तकालयले आर्थिक वर्ष २०८१ साउनदेखि आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्मको पाँच लाख ६२ हजार ७ सय ४१ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ । जसअनुसार पुस्तकालयसँग एक लाख २२ हजार तीन सय ३५ रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष वीरेन्द्र साउँदले जानकारी दिएका छन् । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष साउँदले गरेका थिए भने सञ्चालन सचीव देवेन्द्र बहादुर शाहले गरेका थिए ।
पुस्तकालयको चुनावी साधारण सभा आवश्यक गणपुरक सङ्ख्या नपुगेर शनिबार स्थगित भएको छ । बन्दसत्रको अर्को बैठक २०८३ जेठ १४ गते बिहान ८ बजे सामुदायिक पुस्तकालयको सभा हलमा बोलाइएको बताइएको छ ।









