जोशीपुरको चालू खर्च ६६ प्रतिशत बढी

शेयेर गर्नुहोस


टीकापुर १३ जेठ /
जोशीपुर गाउँपालिकाको पुँजीगत खर्च भन्दा चालूतर्फ दोब्बर खर्च गरेको छ ।
चालू आर्थिक वर्षका लागि विनियोजन भएको ८५ करोड ३५ लाख ३८ हजार ७ सय २४ रुपैयाँ मध्ये पुँजीगत भन्दा चालुतर्फ दोब्बर बढी खर्च भएको हो । गाउँपालिकाले १२ करोड ६१ लाख ३१ हजार ९ सय १५ रुपैयाँ पुँजीगत तर्फ विनियोजन गरेको थियो । त्यसमध्ये चार करोड ६ लाख २३ हजार ८ सय ११ रुपैयाँ अर्थात ३२ दशमलव २१ प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत टिपेश तिमिल्सिनाले जानकारी दिएका छन् ।
उनकाअनुसार ३१ करोड ६६ लाख ३२ हजार रुपैयाँ चालुतर्फ विनियोजन भएको थियो । त्यसमध्ये २१ करोड १४ लाख ४१ हजार तीन सय ३३ रुपैयाँ अर्थात ६६ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षका कुल बजेटको ८० प्रतिशत बजेट खर्च गरेको गाउँपालिकाले त्यहीँ अनुपातमा खर्च हुने अनुमान गरेको छ । “गतवर्ष यो समयसम्म लगभग अधिकांश कामहरू सम्पन्न भैसकेको थियो । केही ठुला आयोजनाको काम मात्रै असारसम्म पुगेको थियो ।” लेखा अधिकृत तिमिल्सिनाले भने, “यसवर्ष अत्याधिक निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण कम्पनीले काम नगर्दा खर्च कम देखिएको हो । सायद असारसम्म गतवर्षकै हाराहारी खर्च हुने विश्वास छ ।”
उपभोक्ताबाट हुने अधिकांश कामहरु सम्पन्न भैसकेका छन् । कतिपयको भुक्तानी समेत भैसकेको छ भने केही आयोजना भुक्तानी प्रक्रियामा रहेको लेखा अधिकृत तिमिल्सिना बताउँछन् । उनले कार्यालयमा शून्य फाइलको अवधारणा अनुसार काम भैरहेको बताए । उता, गाउँपालिकामा विश्व बैंकको सहयोगमा सञ्चालन भैरहेको खानेपानी आयोजनाको ४१ करोड ७ लाख ७४ हजार विनियोजन भएको बजेटमा भने २८ दशमलव ७५ प्रतिशत खर्च भएको छ । जुन ११ करोड ९५ लाख ८८ हजार ९ सय ७६ रुपैयाँ खर्च भएको देखिन्छ ।
गाउँपालिकाले आन्तरिक राजश्व संकलनमा पनि उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षमा ८३ लाख ५८ हजार पाँच सय ६५ रुपैयाँ राजश्व संकलन गरेको गाउँपालिकाले यसवर्ष हालसम्म एक करोड दुई लाख २१ हजार ७ सय ७८ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आन्तरिक राजश्व संकलनका लागि कैलाली जिल्लामै सबैभन्दा कम स्रोत भएको गाउँपालिकाको रुपमा चिनिएको जोशीपुर गाउँपालिकाको प्रमुख स्रोत सम्पत्ति कर नै हो । यसवर्ष गाउँपालिकाले राजश्वको लक्ष्य भने एक करोड ७६ लाख ६९ हजार लिएको छ ।

ताजा खबर

पहिचान जोगाउन होमस्टे सञ्चालन

विश्वविद्यालय विधेयक टेबुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *