मन्त्री पौडेलले गरे विमानस्थलको निरीक्षण

शेयेर गर्नुहोस


टीकापुर ०६ साउन /
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले टीकापुर विमानस्थलको निरीक्षण गरेका छन् ।
मंगलबार मन्त्री पौडेलले विमानस्थलको निरीक्षण गरेका हुन । निरीक्षण क्रममा उनले विमानस्थल सञ्चालनमा आउन सक्ने वा नसक्ने विषयमा भने कुनै प्रतिक्रिया दिएनन् । यथास्थितिमा विमानस्थल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा विमानस्थलका लागि आवश्यक थप जग्गा अधिग्रहण गरेर विमानस्थल सञ्चालनमा ल्याउन जानकारी स्थानीयले गराएका थिए । उनले जग्गा अधिग्रहणको विषयमा बोल्न चाहेनन् ।
उनले विमानस्थलको स्थलगत निरीक्षण पश्चात् आवश्यक अध्ययन गरेर मात्रै भन्न मिल्ने प्रतिक्रिया दिए । “विमानस्थल सञ्चालन हुन सक्ने सम्भावना कति छ भनेर बुझ्नको लागि म आएको हुँ ।” उनले भने, “स्थानीयको सहयोग भयो, मापदण्ड पुग्यो भने विमानस्थल सञ्चालनमा आउन सक्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका टीकापुर नगर सभापति रविन्द्र विष्टले पर्यटन सर्किटको रुपमा मानसरोवरसम्म सानो जहाज चलाउन सकिने भन्दै त्यसका लागि पहल गर्न मन्त्री पौडेल समक्ष आग्रह गरेका छन् । कैलाली क्षेत्र नं. २ का सांसद केपि खनालले पनि सानै जहाज भए पनि पर्यटनलाई जोड्दै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
टीकापुर नगरपालिकाले पनि विमानस्थल सञ्चालन गर्न सकिन्छ भन्ने आधार सहित मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको छ । यसभन्दा पहिले विमानस्थल सञ्चालन हुँदाको यात्रुको स्थिति अनि अन्य भौतिक संरचना र सम्भावना सहितको प्रतिवेदन नगरपालिकाका इन्जिनियर नवराज जोशीले मन्त्री पौडेललाई बुझाएका हुन । “राज्यले चाह्यो भने विमानस्थल सञ्चालन गर्न कुनै कठिन छैन ।” इन्जिनियर जोशीले भने, “सरकार सकारात्मक हुनुपर्यो । सरकारले आवश्यकता महसुस गर्न सके विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ ।”
टीकापुरका लागि प्रमुख राजनीतिक मुद्दाको रुपमा उठाइदै आएको विमानस्थल सञ्चालनका लागि यसअघि पनि कैयौंपटक प्रयासहरु भए । जग्गा सट्टापट्टाको कुरा चल्यो, नगरपालिकाका निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारुले जोखिम लिएरै भएपनि केहि महिना हवाइ सेवा सुरु गरे । देशमा नयाँ सरकार आएसँगै जोडतोडका साथ उठ्ने विमानस्थलको विषय यसपटक पनि छुटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *