शेयेर गर्नुहोस
टीकापुर ०५ साउन /
टीकापुर नगरपालिकामा संकलन भएको फोहोर व्यवस्थापनको टुंगो नलाग्दा बर्सेनि चुनौती थपिँदै गएको छ ।
सुख्खा समयमा खाल्डाखुल्डीमा संकलन भएको फोहोर व्यवस्थापन गरेर त्यसमाथि माटोले पुर्दै आएको नगरपालिकाका लागि वर्षातको समयमा फोहोरको व्यवस्थापन कठिन बन्दै गएको हो । किनबेच त्यस्ता खाल्डाखुल्डी यतिबेला वर्षातको पानीले भरिएका छन् । संकलन भएको फोहोरको उचित व्यवस्थापनमा समस्या भएका कारण गाउँगाउँ पुग्ने फोहोरको गाडी आजभोलि पुग्न छोडेको छ ।
घरमा संकलन भएको फोहोर लामो समयसम्म उठ्न छोडेपछि स्थानीयले नगरपालिका प्रती आक्रोश पोखिरहेका छन् । “हप्ताका एकपटक आउने फोहोरको गाडी महिना दिनदेखि आएको छैन ।” ज्योतीनगरकी सुभद्रा रावलले भनिन्,”अहिले संकलन भएको फोहोर लिन नगरपालिका नआउँदा निकै समस्या हुन थालेको छ ।” उनले सडक छेउमा राखेको फोहोर लामो समयदेखि नउठ्दा संक्रामक रोगको जोखिम बढेको बताएकी छन् ।
नगरपालिकाको फोहोर बाहन हप्तामा एक दिन सबै वडामा फोहोर संकलन गर्न पुग्थ्यो । यहिले बजारको फोहोर न संकलन गर्न नगरपालिकालाई चुनौती देखिँदै आएको छ । “फोहोर संकलन गर्न समस्या छैन । अहिले पनि सबै वडामा फोहोर बाहन घुमाउन सकिन्छ ।” नगरपालिका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भने, “संकलन भएको फोहोर व्यवस्थापन गर्ने ठाउँ छैन । जेनतेन बजारको व्यवस्थापन भैरहेको छ ।”
अहिले सार्वजनिक स्थानहरूमा नगरपालिकाले खाल्डो खनेर संकलन भएको फोहोर व्यवस्थापन गर्दै आएको छ । लगभग दुई वर्षदेखि यहीँ क्रम चलिरहेको छ । स्थानीयबाट फोहोर कर उठाउने गरी कार्यविधि पनि पास गरेको छ । कार्यान्वयनमा त्यो कार्यविधि अझै आएको छैन । प्लास्टिकको प्रयोगमा लगाएको प्रतिबन्ध पनि प्रभावकारी बन्न सकेको छैन । प्लास्टिकको बिक्रीवितरणमा जनप्रतिनिधि नै संलग्न हुँदा झन नगरपालिकाले सुरु गरेको प्लास्टिक निषेध अभियानलाई गिज्याई रहेको छ ।
दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनका लागि डम्पिङ क्षेत्र निर्माण नगर्ने हो भने यो समस्या बर्सेनि कायम रहने उनको भनाइ छ । दिनप्रतिदिन फोहोरको मात्रा वृद्धि हुँदै जाँदा व्यवस्थापन त्यति नै चुनौती बनेको बताउँदै बुढाले चालु आर्थिक वर्षमा नगरपालिकाले अत्याधुनिक डम्पिङ क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताएका छन् ।
नगरपालिकाले पटकपटक व्यवस्थित डम्पिङ साइड निर्माणका लागि प्रयास गरे पनि स्थानीयको अवरोधका कारण अझै क्षेत्र निर्धारण हुन सकेको छैन । टीकापुर नर्सरीलाई फोहोर प्रशोधन केन्द्र निर्माण गरेर संकलन भएको फोहोरलाई प्रशोधन गरेर आम्दानीमा जोड्ने बताइएको छ । “यसभन्दा पहिले कैयौं पटक छलफल भए पनि अझै वातावरण बन्न सकेको छैन ।” बुढाले भने, “अब व्यवस्थित र स्थानीयलाई कुनै असर नपर्ने गरी प्रशोधन केन्द्र बनाइने हुँदा त्यसमा स्थानीयले आत्तिनु आवश्यक पनि छैन ।”










