शेयेर गर्नुहोस
टीकापुर २३ साउन/
भुमी प्रशासन कार्यालय टीकापुरले गत आर्थिक वर्षमा साढे ५० करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
प्रशासन कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ५० करोड ७३ लाख ३१ हजार तीन सय ३० रुपैयाँ राजश्व संकलन गरेको हो । कार्यालयले रजिष्ट्रेशन दस्तुर बापत सबैभन्दा बढी २५ करोड ७४ लाख ४५ हजार ११ रुपैयाँ राजश्व संकलन गरेको
छ । त्यसैगरी रोक्का दस्तुर बापत दुई करोड १६ लाख ४२ हजार दुई सय २३ रुपैयाँ संकलन भएको छ ।
प्रतिलिपी दस्तुरबाट तीन लाख २४ हजार तीन सय ४४ रुपैयाँ राजश्व संकलन गरेको प्रशासन कार्यालयले अन्य सेवा शुल्क बापत ९१ लाख ४४ हजार तीन सय ७२ रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख अशोक सार्कीले जानकारी दिएका छन् । उनका अनुसार पुजीगत लाभकर २१ करोड ८७ लाख ७५ हजार तीन सय ८० रुपैयाँ संकलन भएको छ ।
प्रशासन कार्यालयले गत आर्थिक वर्ष घरजग्गा सम्बन्धि ९२ लिखित पारित गरेको छ । चार हजार ९ सय १५ फुकुवा गरेको कार्यालयलले ७ हजार तीन सय २९ वटा रजिष्ट्रेशन लिखत पारित गरेको छ । सोही वर्ष पाँच सय १५ वटा नामसारी गरेको जनाएको छ । दुई सय ४६ दाखिल खारेज गरेको भुमी प्रशासनले ६ हजार पाँच सय १० वटा संशोधन गरेको छ ।
एक सय ७४ वटा साविक स्रस्ता कायम गरेको कार्यालयले चार हजार ९ सय ४१ वटा रोक्का गरेको जनाएको छ । मोही हक नामसारी एक, मोही लगत कट्टा ४८, मोही जग्गा बाँडफाँड एक र प्रतिलिपी चार सय २१ गरी २५ हजार दुई सय २९ वटा कारोबार भएको कार्यालय प्रमुख सार्कीले जानकारी दिएका छन् । रजिष्ट्रेशन तर्फ ७ हजार चार सय २१ वटा काम भुमी प्रशासन कार्यालयले गरेको छ ।
कित्ता काट रोकिँदा कारोबार ठप्प
चालू आर्थिक वर्षमा जग्गाको वर्गीकरण नगरेका स्थानीय तहमा कित्ताकाटको काम रोकिएपछि यतिबेला भुमी प्रशासन कार्यालय टीकापुरको कारोबार ठप्प जस्तै भएको छ । सबैभन्दा जग्गाको बढी कारोबार हुने टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाले अझैसम्म जग्गाको वर्गीकरण गरेका छैनन् । जग्गाको वर्गीकरण नहुँदा टीकापुर र लम्कीचुहा सहित जोशीपुर गाउँपालिकामा कित्ताकाट रोकिएको छ । “लम्कीले साउन महिनाभित्र काम सम्पन्न गर्ने भनेको छ । जोशीपुर गाउँपालिकाको कागजातमा केही समस्या भएर हो, बाँकी भएको काम भैसकेको छ ।” कार्यालय प्रमुख सार्कीले भने, “टीकापुरको मात्रै अझैसम्म कुनै टुंगो लागेको छैन ।”
टीकापुर कार्यालयबाट टीकापुर, लम्कीचुहा, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिकाको केही भाग, जोशीपुर गाउँपालिका, महुन्याल गाउँपालिका र भजनी नगरपालिकाको केही भाग सेवा लिँदै आएका छन् । भजनी नगरपालिकाले पनि अझै अझैसम्म जग्गा वर्गीकरणको काम अझै भएको छैन । “अहिले गतवर्षको तुलनामा ७५ प्रतिशत कामकाज कम भएको छ । कारोबारका हिसाबले लम्की र टीकापुरको सबैभन्दा बढी हो, त्यहाँ कारोबार निकै न्यून छ ।” सार्कीले भने, “स्थानीय तहले जग्गाको वर्गीकरण गरेनन् र कित्ताकाट खुलेन भने कार्यालयका कर्मचारी फुर्सदिला हुन्छन् । कारोबार निकै घट्छ ।” उनका अनुसार सरकारले कित्ताकाट खोल्ने विषयमा कुनै जानकारी आएको छैन ।









