शेयेर गर्नुहोस
टीकापुर १६ भदौ /
टीकापुर नगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट सम्पर्क बिहिन बनेका व्यक्तिको खोजीका लागि जाने परिवारको खर्च बेहोर्ने भएको छ ।
नगरपालिकाको विपद व्यवस्थापन समितिले बाढीका कारण सम्पर्क बिहिन भएका व्यक्तिको खोजीमा जाने परिवारको एकजनाको चार दिनको खर्च नगरपालिकाले बेहोर्ने भएको हो । “नगरपालिकाले सम्पर्क बिहिन भएको व्यक्तिको खोजीको लागि जाँदा लाग्ने यातायात खर्च र खाना बापतको खर्च उपलब्ध गराउने भन्ने निर्णय भएको छ ।” नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले भने, “बील भरपाई ल्याएर आए नगरपालिकाको कार्यविधि अनुसार ८ छाक खानाको खर्च र यातायात बापत बील अनुसारको रकम उपलब्ध गराउने भन्ने भएको छ ।”
नगरपालिकामा कार्यवाहक नगर प्रमुखको विवादले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउन सकेको छैन । बजेट कार्यान्वयनमा आएपछि आर्थिक अभावका कारण आफन्तको खोजीमा जान नसकेका नागरिकहरूलाई तत्काल सरसापट गरेर जान आग्रह गर्दै वडा नं. ६ का वडा अध्यक्ष तथा विपद व्यवस्थापन समिति संयोजक बलीराम चौधरीले त्यहाँ जाँदा लाग्ने खर्च पछि नगरपालिकाले भुक्तानी गर्ने बताएका छन् । नगरपालिका भित्रका अझै दर्जनौं व्यक्ति सम्पर्कमा आउन सकेका छैनन् ।
हालसम्म बाढीमा परेर मृत्यु भएका झण्डै एक हजार जनाको शव फेला परेको छ भने हजारौं सम्पर्कमा आउन सकेका छैनन् । संघीय सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आव्हान गरेको छ । हरेक स्थानीय तहले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा सहयोग रकम जम्मा गर्दा टीकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुखको विवाद र बजेट कार्यान्वयनमा कार्यवाहक नगर प्रमुख नगार्जीले देखाएको उदासीन्ताले समस्या निम्त्याएको छ ।










