‘१२ गाउँ २’ को ‘जुनेली’ सार्वजनिक, सियोन श्रेष्ठको कोरियोग्राफी र समिर भट्टको नृत्यको चर्चा

शेयेर गर्नुहोस


भरत भण्डारी, टीकापुर /
समिर भट्ट अभिनित बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ को ‘जुनेली’ बोलको गीत सार्वजनिक भएसँगै फिल्म र गीतको चर्चा सुरु भएको छ । गीत सार्वजनिक भएसँगै यसको कोरियोग्राफी तथा नायक समिर भट्टको नृत्यको चर्चा हुन थालेको हो ।
‘जुनेली’ गीतको कोरियोग्राफी सुदूरपश्चिम प्रदेश, कैलालीका सियोन श्रेष्ठले गरेका हुन्। गीतमा नायक समिर भट्टले प्रस्तुत गरेको नृत्य र कोरियोग्राफीको शैलीले दर्शक तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको ध्यान आकर्षित गरेको छ ।
टीकापुरस्थित द क्राउन एण्ड जुम्बा सेन्टरका सञ्चालक तथा कोरियोग्राफर अर्जुन विश्वकर्माले लामो समयपछि नेपाली चलचित्रमा यस स्तरको कोरियोग्राफी देख्न पाउनु र नायकले त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नु खुसीको कुरा भएको बताएका छन् ।
विश्वकर्माले नेपाली चलचित्रमा अब नयाँपनसहित राम्रा र सिर्जनशील कोरियोग्राफरले काम गर्ने वातावरण बन्ने आशा व्यक्त गरे। उनका अनुसार ‘जुनेली’ गीतले नेपाली चलचित्रको नृत्य प्रस्तुतिमा नयाँ सम्भावनाको संकेत गरेको छ । गीतमा लोकप्रिय गायक सुगम पोखरेलको स्वर रहेको छ। चलचित्र ‘१२ गाउँ २’ अभिनेता विराज भट्टको आफ्नै ब्यानरमा निर्माण भएको हो। नेपाली चलचित्र क्षेत्रमा एक्सन नायकका रूपमा लोकप्रिय विराज भट्टका छोरा समिर भट्टले ‘१२ गाउँ’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।
यसअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ चलचित्र तथा नायक समिर भट्टको अभिनय र एक्सनलाई दर्शकले रुचाएका थिए । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि ‘१२ गाउँ २’ लाई पनि दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।
‘जुनेली’ गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा चलचित्रप्रेमीमाझ गीतको कोरियोग्राफी, समिर भट्टको नृत्य तथा गीतको प्रस्तुतिबारे चर्चा भइरहेको छ ।
‘१२ गाउँ २’ असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *